काठमाडौं । राष्ट्रियसभाका वर्तमान अध्यक्ष गणेशप्रसाद तिमिल्सनाको कार्यकाल आगामी फागुन २० गते सकिँदैछ । रिक्त हुने सदस्य पदका निम्ति उपनिर्वाचन भइसकेको छ भने अध्यक्ष चयनको लागि पनि आगामी फागुन २९ गते निर्वाचन गर्ने कार्यतालिका बनेको छ ।
निर्वाचनको मिति नजिकिँदै गर्दा सत्ता गठबन्धनभित्र अध्यक्ष पद कसले लिने भन्ने किचलो सुरु भएको छ । विशेषगरी दुई दल नेपाली कांग्रेस र माओवादी केन्द्रले उक्त पद आफैंले राख्ने तयारी थालेका छन् ।
दुवै दलले कुनै हालतमा पद छाड्न नहुने आन्तरिक निर्णय गरेका छन् ।
विशेषगरी राष्ट्रियसभा सदस्यको निर्वाचनमा उम्मेदवार चयनको बेला दलहरुबीच मोटामोटी अध्यक्षको विषयमा सहमति भएको थियो । नेताहरुले बताएअनुसार नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलालाई अध्यक्षमा नियुक्त गर्ने गरी उम्मेदवार बनाइएको थियो ।
तर, कोशीमा माओवादी केन्द्रका उम्मेदवारमाथि गठबन्धनभित्रैबाट अन्तरघात भएपछि माओवादी केन्द्र बिच्किएको छ । माओवादी केन्द्रले अध्यक्ष पद नछाड्ने अडान लिएको छ ।
मंगलबार बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रियसभा अध्यक्षको पद छाड्ने अवस्था नहरेको कुरा राखेका छन् । तथापि, गठबन्धनलाई सहमतिमै लिएर अगाडि बढ्ने धारणा प्रचण्डले राखेकाे सांसद माधव सापकोटाले जानकारी दिए।
‘बैठकमा बोल्ने अधिकांश सदस्यहरूको धारणा राष्ट्रिय सभा अध्यक्ष माओवादी केन्द्रले छाड्नु हुँदैन भन्ने रह्यो। प्रधानमन्त्रीले गठबन्धनको बैठकमा यसबारे कुरा राख्ने बताउनुभएको छ,’ उनले भनेका छन् ।
कांग्रेसभित्र सिटौलालाई अध्यक्ष बनाउने विषयमा करिब सहमति भएको बताइन्छ । तर, माओवादीको पछिल्लो अडानले समस्या पार्ने आकंलन कांग्रेसभित्र देखिन्छ । नेताहरुले बताएअनुसार माओवादीलाई मनाएर जानुपर्ने धारणा कांग्रेसभित्र छ ।
राष्ट्रिय सभामा माओवादी केन्द्र १७ सदस्यसहित ठूलो दल हो । यस्तै, १६ सांसदसहित कांग्रेस दोस्रो, १० सांसदसहित एमाले तेस्रो र ८ सांसदसहित एकीकृत समाजवादी चौथो दल बनेको हो ।
राष्ट्रिय सभामा जसपाका ३, लोसपा र राष्ट्रिय जनमोर्चाका एक–एक जना सदस्य छन्। सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्ने एक सदस्य अझै रिक्त छ। जसमा राष्ट्रिय जनमोर्चालाई दिने पूर्वसहमति भइसकेको छ ।