राष्ट्रियसभा बैठक : समसामयिक विषयमा कसले के भने ?-Sutra News

राष्ट्रियसभा बैठक : समसामयिक विषयमा कसले के भने ?

बुधबार, २४ माघ २०८०

बुधबार, २४ माघ २०८०

काठमाडौं । राष्ट्रियसभाको बुधबार बसेको बैठकमा सांसदहरूले भूकम्प पीडितलाई राहत, सडक, पुललगायत पूर्वाधार विकास, विदेशमा हराएका नागरिकको खोजी तथा विभिन्न निकायमा अपुग कर्मचारीको व्यवस्थापनलगायत मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।



बैठकको शून्य समयमा बोल्दै सांसद कुमार दसौदीले नेपाल दूरसञ्चार प्राधिकरणलाई प्रभावकारी बनाउन योग्य र क्षमतावान् व्यक्ति नियुक्ति गर्न सरकारसमक्ष माग गरे ।

सांसद खिमलाल देवकोटाले संसद्को डोमिन ‘पार्लेयमेन्ट डट जिओभी डट एनपी’ मा सुधार गर्न सुझाव दिए । उनले संघीय संसद् सचिवालयमा कर्मचारी अपुग रहेको भन्दै सभाध्यक्षमार्फत सरकारको ध्यानाकर्षण गराए ।

सांसद दिलकुमारी रावल थापा (पार्वती)ले नेपालको प्रसिद्ध ऐतिहासिक, धार्मिक, सांस्कृतिक महत्व बोकेको वाल्मीकि आश्रमको संरक्षण र सडक पहुँचका लागि सरकारको ध्यानाकर्षण गराएका थिए । उनले निर्माण सम्पन्न भएको त्रिवेणी नारायणी नदीको झोलुङ्गे पुल तत्काल सञ्चालनमा ल्याउन माग गरिन् ।

सांसद दीपा गुरुङले गत कात्तिक १७ गतेको जाजरकोट भूकम्पमा परी ठूलो जनधनको क्षति भएको र पीडितको राहतका लागि देश तथा विदेशबाट आएको राहत वितरण प्रभावकारी हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराए । भूकम्प प्रभावित क्षेत्रमा अहिले पनि सुत्केरी महिला, बालबालिका र ज्येष्ठ नागरिक जाडोबाट प्रभावित भइरहेको भन्दै पीडितलाई चाँडो राहतको व्यवस्था गर्न माग गरिन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट