काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद जर्नादन शर्माले सरकारको सुशासनको अभियानलाई सबै मिलेर सफल बनाउनु पर्ने बताएका छन् ।
बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै शर्माले सरकारको सुशासनको अभियानलाई कसैले राजनीतिक रङ्ग दिन नहुने भन्दै अभियानलाई सफल पार्न आग्रह गरे । उनले सामाजिक सुरक्षाको विषयमा सरकारले धेरै राम्रा कामहरु अघि बढाइएको धारणा राखे ।
सहकारीको रकम हिनामिना गर्नेहरूलाई कारबाही गर्ने प्रक्रिया चलिरहेको भन्दै यससम्बन्धी अन्य गुनासोलाई सम्बोधन गर्नु पर्ने उनको भनाइ थियो ।
शर्माले जनताप्रति इमान्दार भएर काम गरे संविधानको सफल कार्यान्वयन गर्न सकिने र जनतामा रहेको निराशालाई आशामा बदल्न सकिने बताए । संघीयता कार्यान्वयन गर्न संविधानअनुसार आवश्यक कानून निर्माण गर्नु पर्ने उनले बताए ।
शर्माले जाजरकोटको भूकम्पपछि पुननिर्माणको काम अघि बढाउनका लागि सरकारले संकट क्षेत्र घोषणा गरेर बजेट लगाएको व्यवस्था गर्नु पर्ने धारणा राखे ।