राष्ट्रियसभाको अध्यक्ष कसले पाउने ? गठबन्धनभित्र चर्कियो विवाद-Sutra News

राष्ट्रियसभाको अध्यक्ष कसले पाउने ? गठबन्धनभित्र चर्कियो विवाद

बुधबार, २४ माघ २०८०

बुधबार, २४ माघ २०८०

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष पद कसले पाउने भन्ने विषयमा सत्ता साझेदार दलहरुबीच आन्तरिकरुपमा विवाद चर्किएको छ । जुन विवादको विषय बुधबार बसेको संसद बैठकपछि सञ्चारकर्मीहरुको बीचमा पनि पोखिएको थियो ।



नेकपा (माओवादी केन्द्र)का नेता बर्षमान पुनले अहिलेको अवस्थामा राष्ट्रियसभाको अध्यक्षमा माओवादीले पाउनुपर्ने बताए । राष्ट्रियसभामा पहिलो दल भएकाले शक्ति सन्तुलनका आधारमा पनि माओवादीले नछाड्ने उनको भनाई छ ।

यद्यपि, माओवादी केन्द्र अन्य दललाई मनाएरै सहमति जुटाउने पक्षमा रहेको उनले बताए ।

तर, उनको भनाईलाई कांग्रेस नेता रामहरि खतिवडाले सिधै इन्कार गरे । राष्ट्रियसभाको अध्यक्षमा कांग्रेसको दावी रहेको मात्रै बताएनन् उम्मेदवारकै नाम खुलाए ।

उनले नेता कृष्ण सिटौलाको पक्षमा यसअघि नै सामान्य सहमति भइसकेको बताए । जसलाई छिटै गठबन्धनको बैठक बसेर यस बिषयमा औपचारिक निर्णय हुने उनको भनाई छ ।

दुई नेताबीच भनाई बाझिँदा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले भने राष्ट्रियसभाको अध्यक्षको चयनमा विवाद नहुने दाबी गरे । उनले अध्यक्षको चयनमा गठबन्धनबीच सहमतिमा टुंगीने दाबी गरे ।

उक्त पदमा दलहरुको दावी रहनु स्वभाविक रहेको भन्दै औपचारिक रुपमा त्यस बिषयमा कुनै छलफल नभएको जिकिर उनको छ ।

तर, दलहरुबीच सुरुवाती अवस्थामै देखिएको विवादलाई आधार मान्दा अध्यक्ष पदको विषयलाई लिएर विवाद चर्किने देखिन्छ । जुन यसअघिका विभिन्न श्रृंखलामा देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट