काठमाडौं । सर्वोत्तम सिमेण्ट लिमिटेडले बुक विल्डिङ विधिमार्फत निष्काशन गरेको आईपीओमा उद्योग प्रभावित क्षेत्रका बासिन्दाहरुले आजसम्म आवेदन दिन पाउने भएका छन् ।
कम्पनीले पुस २५ गतेदेखि पहिलो चरणमा उद्योग तथा खानी उत्खनन् प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि आईपीओ जारी गरेको थियो । कम्पनीले ९ लाख ३० हजार कित्ता शेयर स्थानीय बासिन्दाका लागि निष्काशन गरेको छ ।
कम्पनीको शेयरमा उद्योग प्रभावित क्षेत्र नवरपरासीको सुनवल नगरपालिका ३, ४, ५, ६ र १३ तथा उत्खनन् प्रभावित क्षेत्र पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिका १ र २, रिब्दीकोट गाउँपालिकाको २, ३, ४ र ६, तिनाउ गाउँपालिकाको १, २ र ३, माथागढी गाउँपालिकाको ७ र ८ र निस्दी गाउँपालिकाको ७ मा बसोबास गर्ने स्थानिय बासिन्दाहरुले आपेदन दिन सक्ने छन् ।
कम्पनीको आईपीओमा लगानीकर्ताले प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले आवेदन दिनु पर्नेछ । लगानीकर्ताले न्यूनतम ५० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्ने छन् ।
शेयर निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग त्रिपल बी प्रदान गरेको छ । रेटिङ्ग अनुसार सर्वोत्तम समयमा नै सुरक्षित रुपले वित्तिय दायित्व बहन गर्न मध्यम स्तरको क्षमता रहेको कम्पनी हो ।