गोंगबुस्थित नयाँ बसपार्कभित्रै होटल सञ्चालन-Sutra News

गोंगबुस्थित नयाँ बसपार्कभित्रै होटल सञ्चालन

शुक्रबार, २६ माघ २०८०

शुक्रबार, २६ माघ २०८०
फाइल तस्बिर

काठमाडौं । रातका समयमा काठमाडौं आउने चालक, सहचालक र यात्रुको सुविधाका लागि गोंगबुस्थित नयाँ बसपार्कभित्र लोत्से बहुउद्देश्यीय प्रालिले होटल सञ्चालनमा ल्याएको छ ।



प्रालिका अध्यक्ष इञ्जिनियर दीपक कुँवरले यातायात व्यवसायीसँगको सल्लाहमा लामो दूरीबाट आएका चालक, सहचालक र यात्रुको खान तथा बस्नका लागि बिचल्ली नहोस् भन्ने उद्देश्यले होटल सञ्चालनमा ल्याएको जानकारी दिए ।

उनले बसपार्कभित्र क्रमशः अन्य सेवासमेत विस्तार गर्दै लैजाने बताए । काठमाडौं महानगर २६ गोंगबुमा १६१ रोपनी क्षेत्रफलमा सञ्चालित उक्त बसपार्कबाट हाल देशभरका ६५ भन्दा बढी जिल्लामा यात्रु सार्वजनिक यातायातमार्फत आवतजावत गर्दै आएका छन् ।

पश्चिमको हुम्लाबाहेक सबै जिल्लामा बस आवतजावत गर्दै आएका छन् भने पूर्वमा सिन्धुपाल्चोक, रामेछाप, दोलखालगायत जिल्लामा सवारी साधन जाँदैनन् । काठमाडौं महानगरको स्वामित्वमा रहेको उक्त जग्गा २०५६ मा महानगरले ‘सार्वजनिक–निजी साझेदारी’अन्तर्गत लोत्से बहुउदेश्यीय प्रालिसँग सम्झौता गरेर सञ्चालनको जिम्मेवारी दिएको हो ।

प्रविधि मैत्री टिकट बुकिङ काउण्टर स्थापना गरेर यात्रुलाई सेवा प्रदान गर्दै आएको लोत्सेले टिकटलाई अनलाइनमार्फत काट्न मिल्ने व्यवस्थासमेत मिलाउन लागेको छ । नयाँबसपार्कमा हाल एक हजारभन्दा बढी सार्वजनिक सवारी साधन ‘पार्किङ’ गर्न मिल्छ ।

हाल जम्मा तीन सयदेखि ३५० सार्वजनिक सवारी साधन मात्र पार्किङ भई सञ्चालन हुँदै आएका छन् । अन्य सार्वजनिक सवारी साधन भने नयाँ बसपार्कभन्दा बाहिर विभिन्न ठाउँमा पार्किङ गरेर सञ्चालन हुँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट