प्रिमियरमा ‘दयारानी’लाई प्रशंसा-Sutra News

प्रिमियरमा ‘दयारानी’लाई प्रशंसा

शुक्रबार, २६ माघ २०८०

शुक्रबार, २६ माघ २०८०

काठमाडौं । प्रिमियरमा ‘दयारानी’ फिल्मले प्रशंसा बटुलेको छ । माओत्से गुरुङ निर्देशित तथा दयाहाङ राई तथा दीया पुन स्टार फिल्मले आफ्नो कथा, प्रस्तुति तथा कलाकारको अभिनयका लागि तारिफ बटुलेको हो ।



विहिबार रिलिजको पूर्वसन्ध्यामा कमलपोखरी स्थित विग मूभिजमा आयोजना गरिएको फिल्मको प्रिमियरमा नेपाली फिल्म क्षेत्रका चर्चित हस्ति देखि राजनीतिक व्यक्तिहरु समेतको उल्लेख्य उपस्थिति रहेको थियो । फिल्मका निर्देशक गुरुङसँग विद्यार्थीकालिन समयदेखि परिचित रहेका पूर्व स्वास्थ्य मन्त्री तथा एमाले प्रमुख सचेतक पदम गिरीले फिल्म आफूलाई मनपरेको बताए ।

‘हाम्रो नेपाली समाज त्यसमा पनि गुरुङ समाज र संस्कृतीको बारेमा यो फिल्मले बाहिर ल्याउने कोशिस गरेको छ । महिलाले एउटा बच्चा जन्माउन सकेन वा जन्मेन भने समाजले कति धेरै हेप्छ, कुरा काट्छ र एउटा महिलाको मनोबल कसरी गिराउँछ भन्ने कुरा यो सिनेमाले नजिकबाट देखाएको छ’ प्रिमियरपछि गिरीले भने ।

निर्देशक तथा वितरक अशोक शर्माले फिल्म राम्रो बनेको अभिनयबाट निर्देशनमा डेव्यु गरेका माओत्से गुरुङको काम एकदमै तारिफ योग्य छ भन्दै फिल्म राम्रो बनेको प्रतिक्रिया दिए ।

‘उहाँलाई धेरै धेरै बधाई भन्छु दर्शकलाई एउटा राम्रो फिल्म दिएकोमा, कलाकारहरु सवैले राम्रो काम गर्नु भएको छ’, उनले भने ।

अभिनेता खगेन्द्र लामिछानेले आफूलाई फिल्म एकदमै रमाइलो लागेको बताए ।

‘फिल्म हेरिरहँदा समय बितेको पत्तै हुँदैन । फिल्मले सामाजिक पक्ष रमाइलो पाराले देखाइएको छ । दर्शकलाई मन पर्न सक्छ । अल्छी लाग्दैन दर्शकलाई भन्नेमा विश्वस्त छु । सबै कलाकारले नेचुरल काम गर्नु भएको छ ।’

निर्देशक तथा कोरियोग्राफर रेनेशा वान्तवा राईले फिल्मको टिजर र ट्रेलरले वाचा गरेअनुरुपको फिल्म बनेको भन्दै दर्शकलाई हेर्न सिफारिस गरिन् ।

‘टिजर र ट्रेलर जुन किसिमको बनेको थियो त्यही किसिमको र त्यति नै राम्रो फिल्म पनि बनेकाले सवै दर्शकलाई यो फिल्म एक पटक हेर्न सम्पूर्ण दर्शकलाई हेर्न सिफारिस गर्छु । साथै, धेरै फिल्मको टिजर र ट्रेलर एक किसिमको र फिल्म अर्कै भन्ने भएकाले पनि यो सिनेमा त्यो भन्दा विपरित पाए’, उनले भनिन् । साथै फिल्मका निर्देशक मावोत्से गुरुङलाई छेउमै राखेर अझै यस्तो फिल्म वनाउन आग्रह समेत गरिन् ।

यस्तै, आफ्नी आमासहित प्रिमियरमा आएकी अभिनेत्री प्रियंका कार्कीले ‘दयारानी’मा कासीको भूमिकामा अभिनय गरेकी अभिनेत्री नयन गुरुङको अभिनय निक्कै मन परेको बताइन् ।

उनले कासी पात्रको ‘ए होर आफु को हो र ?’ भन्ने संवाद बोल्दै नयनको तारिफ गरिन् । अभिनेत्री केकी अधिकारले पनि आफुलाई यो सिनेमा मन परेको बताइन् । साथै केकी र प्रियङ्का दुवैले पुरुषहरुलाई यो समाजले आफ्नो कमजोरी नदेखाउन कति सम्म वाध्य पारेको रैछ भन्ने कुराको महसुस गरेको समेत उनले वताए ।

फिल्ममा ‘दयारानी’को शीर्ष भुमिकामा काम गरेकी अभिनेत्री दीया पुनले प्रिमियर शोबाट पाएको प्रतिक्रियाले निक्कै खुशी बनिन्। उनले आफुले एकदम राम्रो प्रतिक्रिया आएको बताइन् ।

‘ फिल्मको कथा निकै राम्रो छ । फिल्म पर्दामा आफुलाई हेरिरहँदा दीया पुन भन्दा पनि फिल्मकी पात्र दयारानीलाई नै देखें।’

आफ्नो फिल्म आफैलाई कस्तो लाग्यो भन्दा उनले यस्तो बताएकी हुन् । साथै उनले फिल्ममा जस्तो आफ्नो श्रीमानलाई अर्को विवाह गर्न प्रेरित गर्ने आफू सँग त्यति ठूलो मुटु नभएको पनि उनले वताईन् । यसैगरी प्रिमियरमा सहभागी अन्यहरुले फिल्म राम्रो बनेको प्रतिक्रिया दिएका थिए ।

बाँसुरी फिल्मस् र माओत्से फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मलाई शैलेन्द्र ध्वज कार्कीले खिचेका हुन् । फिल्ममा दयाहाङ र दीयाका अलावा विजय बराल, प्रमिसा गुरुङ, पुस्कर गुरुङ, टिकाराम घले, शिरिषा कुँवर, नयन गुरुङ, सुर्य सुनार, राजेन्द्र थापा, सीतादेवी गुरुङ र क्रिष्टी गुरुङ लगायतका कलाकार पनि अभिनय छ ।

मोहन गुरुङ, किरण गुरुङ, केन्द्र लिम्बु र न्यू आइटी भेन्चरको सहकार्यमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता रामबाबु गुरुङ र अपिल विष्ट हुन् । फिल्मको कास्टिङ डारेक्टर मणिराम पोखरेल हुन् । सिनेमालाई नेपालमा प्रचण्डमान श्रेष्ठको कम्पनि टिफल्क फिल्मस् र विदेशमा सेभेन सिज इन्टरटेनमेन्टले वितरण गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट