काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी दोस्रो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्यानडाले नेपाललाई २८६ रनको लक्ष्य दिएको छ ।
टस जितेर पहिला ब्याटिङ गरेको क्यानडाले निर्धारित ओभर खेल्दै नौ विकेट गुमाएर २८५ रन बनाएको हो ।
क्यानडाका लागि ओपनरद्वय आरोन जोनसज र नवनित दालिवाले पहिलो विकेटका लागि ९४ रनको साझेदारी गरेका थिए । १९ औँ ओभरको दोस्रो बलमा डेब्यू गरेका आकाश चन्दले नवनितलाई ४६ रनमा आउट गरे । जोनसन ६५ रनमा आउट भए ।
त्यसपछि प्रगत सिंह र निकोलस किर्तोनले पारी सम्हाल्ने कोशिस गरेका थिए । तर, ३२ औँ ओभरमा कप्तान रोहितकुमार पौडेलले दुई विकेट लिएका थिए ।
सातौँ नम्बरका ब्याटर श्रेयश मोभ्भा र दशौँ नम्बरका उदय भागवानले ९ औँ विकेटका लागि ४४ रनको साझेदारी गरे । ४० रन बनाएका मोभ्भा अन्तिम बलमा आउट बने भागवन २० रनमा नट आउट रहे ।
नेपालका लागि कप्तान रोहित र कुशल मल्लले समान दुई-दुई विकेट लिँदा पवन सर्राफ, आकाश चन्द, सूर्य तामाङ र सोमपाल कामीले समान एक-एक विकेट लिए ।