काठमाडौं । क्यानडाविरुद्ध दोस्रो एक दिवसीय ओडीआई खेलमा नेपाल चार विकेटले विजयी भएको छ । टस जितेर पहिला ब्याटिङ गरेको क्यानडाले निर्धारित ओभर खेल्दै नेपाललाई २८६ रनको लक्ष्य दिएको थियो ।
विशाल लक्ष्य पछ्याएको नेपालले आक्रमण सुरुवात गर्दै जिततर्फ लम्किएको थियो । खेलमा कप्तान रोहित पौडेल कप्तानी पारी खेल्दै सर्वाधिक ८७ रन बनाए । उनले १०१ बल खेल्दै आठ चौका र चार छक्का प्रहार गरे । यसैगरी दुई विकेट लिएका थिए ।
यस्तै, यू १९ टोलीका कप्तानसमेत रहेका देव खनालले ७६ रन बनाए । चौथो विकेटमा ब्याटिङ गर्न गएका उनले ८१ बल खेल्दै ७ चौका र २ छक्का प्रहार गरे । जितका लागि उनले कप्तान पौडेलसँग १५० रनको साझेदारी गरेका थिए ।
यसैगरी डेब्यु खेलमा ओपनर अनिल शाहले १९ बल खेल्दै अर्धशतक पूरा गर्दै आक्रमण सुरुवात गरेका थिए । उनले तीन छक्का र सात चौका प्रहार गरी ५० रन बनाए । अर्का ओपनर आसिफ शेखले १६ बल खेल्दै एक चौकाको मद्दतमा १० रन बनाए ।
पाँचौँ विकेटमा ब्याटिङ गर्न गएका भीम सार्कीले २१ बल खेल्दै २३ रन बनाए । यस क्रममा उनले चार चौका प्रहार गरे । यसैगरी पवन सराफले आठ बल खेल्दै दुई चौका र एक छक्काको मद्दतमा १४ रन बनाए । खेलमा कुशल मल्ल र साेमपाल कामीले समान नाै-नाै रन बनाउँदै नटआउट रहे ।
बलिङतर्फ नेपालका लागि कप्तान पौडेल र कुशल मल्लले समान दुई-दुई विकेट लिए । यस्तै, सोमपाल कामी, सूर्य तामाङ, आकाश चन्द र पवन सराफले समान एक-एक विकेट लिएका थिए ।
क्यानडाका लागि ओपनर आरोन जोन्सनले सर्वाधिक ६५ रन जोडे । उनले ६२ बलमा १० चौका र दुई छक्का प्रहार गर्दै ६५ रन बनाएका हुन् ।
त्यस्तै, नवनित धलिवालले ४६ रन बनाए । श्रेयश मोभ्वाले ४० रन बनाए । पर्गत सिंहले ३८ रन बनाउँदा निकोलस कीर्तन र उदय भगवान्ले समान २०-२० रन जोडे । दिलप्रित बज्वाले १९ तथा शाहिद अहमदजाइलाई १३ रन बनाए ।
क्यानडाका लागि हर्ष ठकेर र ईश्वरज्वोती सोहीले समान दुई-दुई विकेट लिए । यस्तै, सादबिन जफर र दिलप्रत भाज्वाले समान एक-एक विकेट लिए ।