प्रधानमन्त्रीको आग्रह : परिवर्तनका पक्षधर चिनेर गोलबन्द हुनुस्-Sutra News

प्रधानमन्त्रीको आग्रह : परिवर्तनका पक्षधर चिनेर गोलबन्द हुनुस्

शनिबार, २७ माघ २०८०

शनिबार, २७ माघ २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहिचान र अधिकारको पक्षमा संघर्षरत राजनीतिक शक्ति र नेतृत्वमा परिवर्तनका पक्षधर गोलबन्द हुनु पर्ने बताएका छन् ।



राष्ट्रिय सोनाम ल्होछारका अवसरमा शनिबार टुँडिखेलमा आयोजित तामाङ सांस्कृतिक महोत्सवमा उनले पहिचान र अधिकारका पक्षधर वर्ग, जाति र समुदायको सहयोगमा मात्रै संघीयता कार्यान्वयनमा गुणात्मक फड्को मार्न सकिने दाबी गरेका थिए ।

“म यसै मञ्चबाट विशेष अनुरोध गर्दछु, पहिचान र अधिकारको पक्षमा संघर्षरत राजनीतिक शक्ति र नेतृत्वलाई तपाईंहरूले राम्रोसँग चिन्नूस्, यसको वरिपरि गोलबन्द हुनुस्”, प्रधानमन्त्रीले भने, “फेरि हामी शक्तिशाली हुनेछौँ, आन्दोलनका बाँकी कार्यभार पूरा हुनेछन् ।”

आफू दोस्रो पटक प्रधानमन्त्री हुँदा ७५३ स्थानीय तहको निर्धारण, स्थानीय तहको निर्वाचन, संघीयताअनुरूप कार्यालयको स्थापनामा महत्वपूर्ण काम भएको स्मरण गर्दै उनले संघीयता कार्यान्वयनलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको स्पष्ट पारे ।

हालै मात्र राष्ट्रिय समन्वय परिषद्का दुई वटा बैठक सम्पन्न भएका बताउँदै प्रधानमन्त्री दाहालले कार्यविस्तृतीकरण प्रतिवेदन परिमार्जनको अन्तिम प्रक्रियामा रहेको जानकारी दिए ।

समारोहमा प्रधानमन्त्रीलाई तामाङ पहिरनबाट सम्मान गरिएको थियो । समारोहमा प्रधानमन्त्रीले बागमती प्रदेशका मन्त्री तीर्थ लामालगायत तामाङ समुदायको विभिन्न विधाका अगुवा व्यक्तित्वलाई सम्मान गर्नाका साथै विश्व कीर्तिमानी मोहन घिसिङलाई सम्मान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट