काठमाडौँ । फिल्म क्षेत्रमा नायिकाको तुलनामा नायकहरूले निकै लामो समयसम्म राज गरेको देखिन्छ । चाहे त्यो हलिउड होस् या बलिउड अथवा कलिउड नै किन नहोस् ।
सलमान खान, साहरुख खान, अमिर खान, र अक्षय कुमार जस्ता बलिउडका अभिनेताहरूले १९औँ दर्शकदेखि अहिलेसम्म बलिउडमा राज गरिरहेका छन् । तर, काजोल देवगन, ऐश्वर्या राय बच्चन, माधुरी दीक्षित, प्रीति जिन्टा जस्ता उनीहरूकै समकालीन अभिनेत्रीहरू अब फिल्म नै खेल्न छोडिसके भन्दा फरक पर्दैन ।
अब यी अभिनेत्रीहरूको साटो १९औँका ती हिरोहरूसँग अहिलेका नयाँ हिरोइनहरूले रोमान्स गरेको देख्न सकिन्छ । यो कुरा बलिउडमा मात्र नभएर नेपाली फिल्म क्षेत्रमा पनि देख्न सकिन्छ ।
कलिउडमा हामी भुवन केसीलाई नै हेर्न सक्छौँ । उनीसँगैका समकालीन हिरोइनहरूलाई हामी पछि आमाको पात्रमा पनि देख्न थाल्यौँ । तर भुवन केसीले भने तृप्ती नदाकर, कृष्टी मैनाली, गौरी मल्ल, जल शाह हुँदै झरना थापा र रेखा थापासँग पनि स्क्रिनमा रोमान्स गरेको देखियो ।
हालसालकै कुरा गर्ने हो भने अहिलेका चर्चित नायकका रूपमा रहेका दयाहाङ राई, अनमोल केसी, प्रदीप खड्का, पल शाह जस्ता नायकहरूलाई फिल्म मेकरहरुले दोहोर्याई राखेको देखिन्छ । तर, नायिका भने नयाँ-नयाँ अनुहार पनि ल्याएको देखिन्छ । यी सब कुराबाट प्रस्ट हुन्छ कि नायिकाहरूको करियर उमेर नायकको तुलनामा निकै कम हुन्छ ।
आखिर किन त्यस्तो हुन्छ प्रश्न यहाँ उठ्छ । जसको जवाफ नायिका स्वस्तिमा खड्काले निकै सुन्दर ढंगले दिइएकी छिन् । शनिबार ह्वाइटहाउस कलेजमा सिनेमा संसार : अभिनेत्रीका नजरमा भन्ने मूल नाराका साथ भएको लिटरेचर फेस्टिभल-२ मा स्वस्तिमाले यसको जवाफ दिइएकी हुन् ।
उक्त कार्यक्रममा नायिका वर्षा सिवाकोटीको साथ पुगेकी उनले महिला कलाकारलाई ग्ल्यामरको लागि मात्र प्रयोग गरिने दाबी गरिन् । कतिले हिरोको वरिपरी नाच्ने पात्र मात्र मानिएकोले यसो हुने भएको हुन सक्छ उनले भनिन् ।
‘पारिवारिक अवस्थाले महिलालाई लामो समय सम्म अघि बढ्न, पुरुष कलाकारलाई फिल्म क्षेत्रमा आउन गाह्रो र महिला कलाकारलाई आउन चाहिँ सजिलो तर टिक्न गाह्रो हुन्छ ‘ उनले भनिन् ।
यस्तै, स्वस्तिमाले मिडियाबाटै महिला अभिनेत्रीका बारेमा काम भन्दा ग्ल्यामरलाई नै निशाना बनाउने गरेको आरोप लगाइन् ।
उनले भनिन्, ‘यहाँ मिडियामा महिला पात्रहरूको कामको कदरभन्दा बढी ग्याल्मरका कुरा उठाउने गरिएको छ, पुरुष कलाकारलाई चाहिँ कामको कदर गर्दै प्रश्न गर्नै हच्किएको देखेको छु ।’