हलमा दर्शकको खडेरी : कस्तो छ हात्तीछाप र दयारानी व्यापार ?-Sutra News

हलमा दर्शकको खडेरी : कस्तो छ हात्तीछाप र दयारानी व्यापार ?

आइतबार, २८ माघ २०८०

आइतबार, २८ माघ २०८०

काठमाडौं । तिहारको अवसरमा रिलिज भएको फिल्म ‘दिमाग खराब’ले सुखद कमाई गरेपछि नेपाली फिल्मको व्यापार अझै सुस्ताएको छ । मंसिर महिनामा ‘जम्प र दुई कदम’ नाम दुई फिल्म रिलिज भए । यी दुवै फिल्म हलमा लागेको समेत दर्शकले राम्रोसँग थाहा पाएनन् । सोही अनुरूप यी दुई फिल्मले व्यापारलाई लाखमा पुर्‍याउन सकेन । दुवै बक्सअफिसमा टाट पल्टिए ।



यसपछि पौष महिनामा ‘चित्रा र पर्खी बसेँ तिमीलाई’ रिलिज भए । यी दुवै फिल्मको व्यापार पनि सन्तोषजनक रहन सकेन । यसबीचमा केही महिना अघिदेखि नेपालमा हिन्दी फिल्मले मालामाल व्यापार गरिरहे । बलिउड र साउथ फिल्मले नेपालमा करोडौं कमाउँदा घरेलु फिल्म भने एक हप्ता पनि हलमा टिक्न सकेका थिएनन् । जसले गर्दा बक्स अफिसलाई चलायमान बनाउन आशातित फिल्मको प्रतिक्षा भइरहेको थियो ।

‘चित्रा र पर्खी बसेँ तिमीलाई’ रिलिज भएको करिब एक महिनापछि देशभरका हलमा दुई नयाँ नेपाली फिल्म ‘दयारानी’ र ‘हात्तीछाप’ प्रदर्शनमा आए । हात्तीछाप र दयारानीलाई लिएर बक्स अफिस प्रति धेरैको ठूलो अपेक्षा थियो । शुक्रबारबाट प्रदर्शनमा आएका यी दुई फिल्ममा कलाकारको ‘लाइनअप’ बलियो भएकाले सुरुवाती व्यापार सुखद् हुनसक्ने प्रक्षेपण गरिएको थियो ।

फिल्महरूले अपेक्षा गरेअनुसार व्यवसाय गर्न नसकेपछि सुरुवाती व्यवसायमा केही आशा जगाउने काम भने ‘दयारानी’ ले गरेको छ । शुक्रबार र शनिबार फिल्म ‘दयारानी’ले उत्साहजनक व्यापार गरेको यसको निर्माण पक्षले बताएको छ । माओत्से गुरुङको निर्देशनमा तयार भएको यो फिल्मले विशेषगरी, मोफसलका केही सहरमा राम्रो कमाई गरेको देखिएको छ ।

विशेषगरी दुई दिन पोखरामा फिल्मको अकुपेन्सी उच्च रह्यो । यसको पछाडि दुई वटा कारण छन् । पहिलो, ‘दयारानी’का निर्देशक माओत्से गुरुङ पोखराका हुन् । त्यहाँ उनको ठूलो नाम छ । उनको नामैले पनि हलमा दर्शक तानेको छ । दोस्रो, फिल्मले गुरुङ समुदायको कथा उठाएको छ र पोखरामा त्यही समुदायको घनत्व छ । यिनै कारणले पोखरामा फिल्मको व्यापार सुखद् देखियो ।

पोखराको मिड टाउन सिनेमाजले ‘दयारानी’लाई शुक्रबार र शनिबार ७/७ शो दिएको थियो । र, सबै शो हाउसफुल भएका थिए । आइतबार पनि मिड टाउनले फिल्मलाई ७ शो नै उपलब्ध गराएको छ । त्यस्तै, पूर्वका दमक, बिर्तामोड, इटहरीका हलमा पनि दुई दिन फिल्मको व्यापार सुखद् रहेको थियो । काठमाडौं उपत्यकाका हलमा भने फिल्मप्रति दर्शकको ‘क्रेज’ सामान्य देखिएको छ ।

गुरुङ समुदायमा रहेको संस्कृतिमा आधारित फिल्म दयारानी विवाह गरेको धेरै समयपछि सन्तान नभएपछि उपचार खोज्न हिँड्ने कथामा आधारित छ ।

चिकित्सकले आफूबाट सन्तान उत्पादन गर्न सक्ने क्षमता नभएको बताएपछि दयाहाङ राईको पात्रले यो सत्यलाई लुकाएर यसको दोष पत्नीलाई लगाउँछ । आफूलाई मर्दका रूपमा देखाउन उक्त पुरुष पात्रले आफ्नो कारणले सन्तान उत्पादन गर्न नसक्ने यथार्थलाई स्वीकार्न  सक्दैन । सन्तान प्राप्तिको यो रस्साकस्सीमा कसरी महिला प्रताडित हुनुपर्छ भन्ने कथावस्तु दयारानीमा चित्रण गरिएको छ । फिल्ममा सन्तान नभएका बेलामा श्रीमान्-श्रीमतीबिच कस्ता उतारचढाव आउँछन् भन्ने कुरालाई पनि देखाउन खोजिएको छ ।

त्यस्तै, ‘हात्तीछाप’को शुक्रबार भन्दा शनिबारे व्यापार सुधारोन्मुख देखियो । एकातिर सार्वजनिक बिदा र अर्कोतिर सोनाम ल्होसार परेकाले हलमा दर्शकको चाप सुखद् थियो । शनिबार अभिनेत्री उपासना सिंह ठकुरी र अभिनेता बुद्धि तामाङ दर्शकको प्रतिक्रिया बुझ्न चाबहिलस्थित एफक्यूब हल पुगेका थिए । त्यहाँ अधिकांशले फिल्मको प्रशंसा गर्दै सिक्वेल चाँडै ल्याउन आग्रह गरेका थिए ।

आइतबारबाट ‘हात्तीछाप’ र ‘दयारानी’को वास्तविक परीक्षा सुरु भएको छ । हास्य, मित्रता, प्रेम र सामाजिक कथावस्तु समेटिएको ‘हात्तीछाप’ मा भूकम्पको कथादेखि राजनीतिक कथा जोडिएको छ । फिल्ममा नायक सौगात मल्ल ‘बोतल राजा’ का रूपमा प्रस्तुत भएका छन् । राजाको भूमिकामा देखिएका सौगातमै फिल्मको कथा रुमलिएको छ ।

उसो त, यी दुवै फिल्मलाई हलमा लामो रेसको घोडा बन्न सशक्त ‘वर्ड अफ माउथ’को आवश्यकता परेको छ । अर्थात् अब कन्टेन्ट बोल्नुपर्ने हुन्छ । तर, दुवै फिल्मलाई दर्शकबाट मिश्रित प्रतिक्रिया प्राप्त भएकाले व्यापारमा उछाल कायम गर्न चुनौतीपूर्ण देखिन्छ । स्टार कलाकारले भरिएको दुवै फिल्मले सेलाएको नेपाली बक्स अफिस चलायमान गराउने अड्कलबाजी धेरैको थियो । तर, दुवै फिल्मको व्यापार अपेक्षाकृत हुन सकेको छैन । यद्यपि, दुवै फिल्मका निर्माता व्यापार बढ्नेमा आशावादी छन् ।

निर्माता आशावादी सधैँ देखिए पनि नेपाली फिल्मप्रति दर्शकको आकर्षण कम भएको प्रष्ट हुन्छ । कतिपय हलहरूले शो राखे पनि दर्शक नै भएका कारण अन्तिम समयमा आएर शो हटाएका थिए । कमलपोखरी स्थित विगमूभिजले फिल्म ‘हात्तीछाप’को १२ बजेको शोमा दर्शक नै उपस्थित हुन नसक्दा शो सञ्चालन गर्न सकेन ।

दुवै फिल्मको कतिपय हलहरूमा बुकिङ हेर्दा दर्शक औंलामा गणना गर्न सक्ने अवस्था थियो । यी दुवै फिल्मका लागि अपेक्षाकृत दर्शक नआउँदा, दर्शक कसरी हलसम्म तान्ने भन्ने चुनौती बढेको छ । यसरी हेर्दा दर्शक अभावका कारण खडेरी भोग्दै जानुपर्ने देखिन्छ ।

फिल्म नचल्नुमा हिन्दी फिल्म, दक्षिण भारतीय फिल्म कारक हुन् कि नेपाली फिल्म नै कमजोर हुन्, विज्ञले बताउलान् । दुवै फिल्मले समिक्षकको राम्रो समिक्षा त पाएन नै, नयाँ नेपाली फिल्मप्रति दर्शक आकर्षित नहुनुले फिल्म आफैँमा सशक्त छैनन् भन्ने बुझ्न सकिन्छ । तर, हलहरूमा दर्शकको उपस्थिति सन्तोषजनक सुरुआत नदेखिनुले निर्माताको सातो भने जान सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट