काठमाडौं । युवा क्रिकेटर देव खनाल वर्षकै उत्कृष्ट युवा खेलाडीको अवार्डबाट सम्मानित भएका छन् ।
नेपाल खेलकुद पत्रकार मञ्चले २० औँ एनएसएसजेएफ पल्सर स्पोर्ट्स अवार्डअन्तर्गत खनाल अवार्ड प्रदान गरेको हो ।
यु १९ क्रिकेट टोलीका कप्तानसमेत रहेका खनालले मनोनयनको शीर्ष तीनमा परेका एथलेटिक्सकी राममाया बुढा र बक्सिङकफी सुष्मा तामाङलाई पछि पारेका हुन् ।
नेपालले ८ वर्षको खडेरी तोड्दै २०२४ को आईसीसी यू १९ विश्वकप क्रिकेट छनोट गराउन उनको नेतृत्वले महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो ।
खनालको कप्तानीमा नेपाल यूएईलाई फाइनलमा पराजित गरी एसिया छनोटको उपाधि जित्न सफल भएको थियो । विश्वकप छनोटमा उनले पाँच खेलको ३ इनिङ्समा ६५ माथिको औसतमा १९७ रन बनाएका थिए ।
घरेलु क्रिकेटमा उनकै कप्तानीमा लुम्बिनी प्रदेश यू १९ राष्ट्रिय प्रतियोगितामा उपविजेता भएको थियो ।