काठमाडौं । मिस पबी नामले चर्चित टिकटकर तथा मोडल पवित्रा साँकीको एउटा भिडियो केही दिन अघिदेखि सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
अष्ट्रेलीयामा रहँदै आएका विष्णु सापकोटासँग मिस पविले खिचेको एउटा भिडियो अहिले भाइरल भइरहेको हो ।
उक्त भिडियो चर्चामा रहनुको पछाडि केही समय अघि गायिका एलिना चौहानको ब्रेकअपको खबर सार्वजनिक भएसँगै टिकटकर पवि र एलिनाका प्रेमी भनिएका विष्णुले अष्ट्रेलियामा रमाइलो गरिरहेको भिडियोलाई लिएर चर्चा भइरहेको छ । यी दुईले एक गीतमा बनाएको रिल्स भिडियोमा मिस पवि र विष्णु प्रफुल्लित मुद्रामा देखिएका छन् ।
मिस पवि पनि केही दिन यता विदेश भ्रमणमा छिन् । सोही क्रममा विष्णु र पवि नजिकिएको बताइएको छ । उनीहरूको भिडियो आएपछि मानिसहरूले अहिले पवि र विष्णुलाई लिएर विभिन्न खालका प्रतिक्रिया दिइरहेका छन् । कतिपयले विष्णुले एलिनालाई धोका दिएर मिस पविसँग अफेयरमा रहेको चर्चा गरेका छन्।
सामाजिक सञ्जाल प्रयोगकर्ताले भिडियो सेयर गर्दै यी दुईबीच प्रेम सम्बन्ध हुनसक्ने अड्कालबाजी काटेसँगै केही सञ्चार माध्यमले एलिनाका पूर्वप्रेमीसँग मिस पविको रोमान्स भनेर समाचार समेत बनाएका थिए ।
सामाजिक सञ्जालमा सोही भिडियोलाई लिएर धेरै टीकाटिप्पणी गर्न थालेपछि मिस पविले स्पष्टीकरण दिएकी छिन् ।
उनले सामाजिक सञ्जालमा लेखेकी छिन्–‘म आफ्नो बुबालाई भेट्न र सोही सिलसिलामा एउटा फिल्म सुटिङको लागि अष्ट्रेलीयामा छु । यसकै सिलसिलामा विष्णु सापकोटा लगायतको टिमसँग भेट भएको हो । उनीहरूको एउटा व्यापारको प्रमोसनको भिडियो बनाउनका लागि मलाई बोलाइएको थियो । तर, अहिले सोही सिलसिलामा खिचिएको भिडियोलाई लिएर नेपाली मिडियाहरूले झूट र भ्रामक समाचार प्रकाशन र प्रसारण गरेको प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।’
यस्तै, मिस पविले सत्य तथ्य बुझेर मात्र समाचार प्रसारण गरिदिन सबैसँग आग्रह समेत गरेकी छिन् ।
विष्णु सापकोटाको कुरा गर्दा केही समय अघि गायिका एलिना चौहानसँग नाम जोडिएपछि चर्चामा आएका हुन् । उनीहरुको ब्रेकअपको खबरले सामाजिक सञ्जाल एकाएक तातेको थियो ।