इञ्जिनियरको चिया पसल : बुबा-आमा बितेपछि जुरेको बाटो-Sutra News

इञ्जिनियरको चिया पसल : बुबा-आमा बितेपछि जुरेको बाटो

मंगलबार, १ फाल्गुन २०८०

मंगलबार, १ फाल्गुन २०८०

काठमाडौं । सूचना प्रविधिको युग । त्यसैमा कम्प्युटर इञ्जिनियरिङमा स्नातक अर्थात् ‘बिटेक’ गरिसकेको युवा ।



यस्तो युवाले के गरिरहेका होलान्, कल्पना गर्नुहोस् त ? सोही विषयमा स्नातकोत्तर अध्ययनको तयारीमा जुटेका, रोजेखोजेको कार्यालयमा सफ्टवेयर बनाइरहेका, बहुचर्चित विधा आर्टिफिसियल इन्टेलिजेन्स, साइबर सेक्युरिटीलगायत काममा नयाँ–नयाँ प्रयोग गर्न अभ्यस्त । त्यसै नभए पनि आफ्नो सीप र कला प्रयोग गरेर जीवनयापन गरिरहेका त पक्कै होलान्, हरेकको मानसपटलमा यस्तै चित्र बन्छन् ।

तर, धनुषाको जनकपुरधाम उपमहानगर १० देवीचोक निवासी कम्प्युटर इञ्जिनियर राजेश कर्णको दिनचर्या भने हामीले कल्पना गरेभन्दा भिन्न छ । कम्प्युटरका पाटपुर्जा र थरिथरि सफ्टवेर बनाउन किबोर्ड चलाउनु पर्ने उनका हात यतिखेर स्वादिलो चियाका लागि चियापत्ती, पानी र चिनी अड्कल्दै छन् । जनकपुरधाम २ स्थित किशोरी चोकमा एउटा सानो सटरमा चियापसल सञ्चालन गरिरहेका छन्, राजेश ।

घरी असरल्ल राखिएका चिया गिलास टिप्छन्, घरी चिया पकाउँछन् । सपना विश्वविद्यालयमा आर्जन गरेको कम्प्युटर शिक्षा प्रयोग गर्ने छ तर विपनामा भने यसैगरी चियाको मात्रा नापिरहनु परेको छ उनले ।

“आफ्नै क्षेत्रमा काम गर्ने रहर त कसैलाई हुदैन र ! त्यस्तै रहर मलाई पनि थियो । तर रहरले मात्रै कहाँ हुँदो रहेछ ! त्यसैको उदाहरण हुँ म”, उनले भने । रहरले त हुँदैन तर प्रविधिको ज्ञान त छ नि ! प्रयास गरेपछि कसो नहोला ? लामो सुस्केरा हाल्दै राजेशले भने, “खै ! नहुँदोरहेछ । मसँग त रहर र सीप दुवै छ । प्रयास पनि कहाँ नगरेको हुँ र !”

पछाडिबाट आवाज आयो, “दाई चिया ।” कुरा छाडेर काममा लागे उनी । ग्राहकलाई चिया दिइसकेपछि छेउमै आएर सोधे, “तपाईंहरूको नि ?” जवाफमा हामीले पत्रकार भएको बताएऔँ ।

“मेरो त काम नै यस्तै छ । सुरुका केही दिन त नरमाइलो लाग्थ्यो, अहिले भने अभ्यस्त हुँदैछु”, पाक्दै गरेको चिया चलाउँदै राजेशले भने, “पारिवारिक परिबन्ध र खराब समय चलेपछि जति प्रयास गर्दा पनि हुँदैन रहेछ । विज्ञानमा विश्वास गर्ने म अचेल त भाग्यमा यस्तै गर्नुरहेछ भनेर चित्त बुझाइरहेको छु ।”

आठ हजार तिर्नु पर्ने भएपछि…

आमालाई क्यान्सर भयो । त्यहीबीचमा बुबा बिते । परिवारको लय बिथोलियो । राजेश दाजु भाइको सपना र योजना । जागिरका लागि गरिएका प्रयास सफल भएनन् । भएको सीप प्रयोग गरेर केही गरौँ भन्ने सोचमा पुँजी बाधक बन्यो ।

“सबै प्रयास असफल भएपछि अहिले चिया पसल चलाइरहेको छु । एक लाख ऋण काढेर यो व्यवसाय सुरु गरेको पनि तीन महिना भयो । ठूलो चोट, सिकाइ र विवशतापछिको प्रतिफल हो”, उनले मलिन मुद्रामा भने ।

यो व्यापार पनि एउटा पसलमा आठ हजार उधारो तिर्नु पर्दाको सकसपछि जन्मिएको हो । चियाका अम्मली राजेशले गएको दसैँ तिहारकै समयमा उधारो खाने गरेको चिया पसलेलाई आठ हजार तीन सय तिरे । अनुमानभन्दा बढी पैसा तिरेपछि त्यसै दिन चिया छोड्ने वा आफैँ चियापसल खोल्ने संकल्प लिएको राजेशको कथन छ ।

उनले भने, “त्यहीँ घटनापछि चियापसल खोल्ने निर्णयमा पुगेँ । एकातिर अरुलाई तिर्नु पर्ने चियाको पैसा जोगिने अर्कोतिर समयको सदुपयोग र दुई पैसा आम्दानी पनि हुने । त्यसपछि चिया पसल सुरु गरेको हुँ ।”

राजेशले पसलको नाम ‘इञ्जिनियर क्याफे’ राख्ने निधो गरेर बोर्ड बनाउन दिएका छन् । उनी विभिन्न प्रकारका चिया, कफी बनाउने सोचका साथ बजार अध्ययन गरिरहेका छन् । अब यहीँ व्यवसायलाई व्यवस्थित बनाउने योजनामा छन्, उनी ।

“सुरुमा पढियो एउटा गरियो अर्कै भनेर निराश हुन्थे, तर अहिले चाहिँ कुनै पछुतो छैन । देशको अवस्था, विदेशिएका युवाको पीडाका साथै पसलमा आउनेहरूले दिने प्रतिक्रियाबाट पनि उत्साहित भइरहेको छु । आगामी दिनमा के-के हुन्छ हेर्दै जाऔँ,” उनले भने ।

जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्रकुमार महासेठ पनि एउटा शिक्षित र प्राविधिक शिक्षा पढेको युवाले रोजगारी नपाउनु चिन्ताको विषय भए पनि राजेशले रोजेको बाटोबाट आम युवाका लागि प्रेरणाको ठूलो सन्देश प्रवाह भएकामा खुसी व्यक्त गरे ।

“देशमा कुनै पनि क्षेत्र र मान्छे उत्साहित छैनन् । युवाहरू विदेश धाइरहेका छन् । यो भीडमा एउटा शिक्षित युवाले चियापसल खोल्ने आँट गर्नु राम्रो कुरा हो । यसबाट अरुले पनि पाठ सिक्न जरुरी छ,” उनले भने ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट