बैंकलाई जोडेर तथ्यहीन समाचार प्रकाशित गरिएको भन्दै एनआईसी एशियाको आपत्ति-Sutra News

बैंकलाई जोडेर तथ्यहीन समाचार प्रकाशित गरिएको भन्दै एनआईसी एशियाको आपत्ति

मंगलबार, १ फाल्गुन २०८०

मंगलबार, १ फाल्गुन २०८०

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो बैंकलाई जोडेर सञ्चार माध्यममा प्रकाशित तथा प्रसारित समाचारप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । बैंकको कर्जा असुली चिन्ताजनक रहेको, बैंकलाई राष्ट्र बैंकले छानबिन गरिरहेको र सोही सन्दर्भमा बैंकको नायब प्रमुख कार्यकारी अधिकृत सुधिरनाथ पाण्डेले राजीनामा दिएकोलगायतका विषयहरूमा प्रकाशित समाचारप्रति बैंकले आपत्ति जनाएको हो ।



बैंकले उक्त विषयहरु तथ्यहिन भएको दाबी गरेको छ । “हाल यस बैंकमा नेपाल राष्ट्र बैंकको नियमित वार्षिक सुपरिवेक्षण चलिरहेको र उक्त सुपरिवेक्षण नेपाल राष्ट्र बैंकको नियमित क्यालेन्डरअन्तर्गत भएकोमा केही सञ्चार माध्यमहरूले कपोलकल्पितरूपमा राष्ट्र बैंकले यस बैंकको अनुसन्धान गरिरहेको र सो क्रममा बैंकमा ठूला कमजोरी तथा कैफियतहरू पत्ता लगाइएको भन्ने उल्लेख गरी भ्रामक समाचारहरू प्रकाशित भएकोमा यस बैंकको गम्भीर ध्यानाकर्षण भएको छ”, बैंकद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “उक्त समाचारहरू सम्पूर्ण रुपमा झुटा र आधारहीन रहेको तथ्य सम्बन्धित सबैको जानकारीको लागि प्रस्ट पार्दछौं ।”

बैंकले बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुधिरनाथ पाण्डेको राजीनामासँग जोडेर आएका समाचार कपोलकल्पित रहेको दाबी गरेको छ । संस्थागत सुशासन, प्रचलित कानून तथा नियमनकारी व्यवस्थाहरूको परिपालना र आम निक्षेपकर्ता, ऋणी, शेयरधनी, कर्मचारी लगायतका सम्पूर्ण सरोकारवालाहरूको हकहितको सम्वर्द्धनको विषयलाई बैंकले सदैव सर्वाधिक उच्च प्राथमिकतामा राखेको पनि बैंकको दाबी छ ।

“हालसम्म आम निक्षेपकर्ता, ऋणी, नियमनकारी निकायहरू, शेयरधनी, कर्मचारी एवम् आम जनमानसको यस बैंक प्रतिको अगाध भरोसाको फलस्वरुप नै यस बैंक देशकै सबैभन्दा सहज, सबल, गतिशील, विश्वसनीय एवं उत्तरदायी बैंक हुन सफल भएको तथा सबै सरोकारवालाहरूको यस बैंक प्रतिको अगाध भरोसा, आस्था, विश्वास एवं सहकार्य प्रति यस बैंक सदैव कृतज्ञ रहेको र आफ्ना ४१ लाखभन्दा बढी ग्राहकहरूको उत्कृष्ट सेवामा अनवरत रुपमा दत्तचित्त भएर लागिरहेको व्यहोरा अवगत गराउँदछौं”, बैंकद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट