काठमाडाैं । फिल्म ‘खजुरे ब्रो’ को छायांकन सम्पन्न भएको छ ।
एक महिना देखि धरानमा भई रहेको फिल्मको सम्पूर्ण छायांकन २५ दिनमा सकिएको हो ।
फिल्मको छायांकन तोकिएकै समयमा सहज वातावरणमा सम्पन्न भएको कार्यकारी निर्माता डायमन्ड उप्रेतीले दिए ।
फिल्ममा रेयर राई, महेश त्रिपाठी, नीति शाह, नविन मानन्धर, प्रकाश भुजेल, विनीता थापा मगर, सुष्मा निरौला, पुष्कर कार्की, मनिष राउत, प्रेम सुब्बा र सुजाता राईको मुख्य भूमिका रहनेछ ।
‘खजुरे ब्रो’ नीति शाहको डेब्यु फिल्म हो । यस्तै, फिल्ममा दार्जलिङ्गका कलाकार शान्तिला तामाङ रहेको छ । साथै, यस फिल्ममा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले समेत विशेष भूमिकामा अभिनय गरेका छन् ।
‘खजुरे ब्रो’ पारिवारिक व्यङ्ग्यात्मक ‘लाइट कमेडी’ जनरामा आधारित व्यावसायिक फिल्म हो । फिल्मले धरानको संस्कृतिको प्रवर्धन गर्ने र ठूलो पर्दामा स्थानीय कला र रहनसहन झल्काउने निर्माण पक्षको भनाइ छ ।
छायांकन सकिएसँगै अब फिल्मको छिट्टै पोस्ट प्रोडक्सनको काम अघि बढ्ने र जेठ महिनामा प्रदर्शन गर्ने निर्माण टिमको योजना रहेको छ ।
दिव्य दृश्य इन्टरटेन्टमेन्टको ब्यानरमा निर्देशक सुरज सुनुवारको निर्देशनमा निर्माण भएको फिल्म ‘खजुरे ब्रो’ को निर्माण नवीन मानन्धर र सुरज सुनुवारले गरेका हुन् । कमेडी जनराको फिल्मको लेखक पनि निर्देशक सुनुवार नै हुन् ।
शिशिर बिसंखेले छायांकन गरेको फिल्ममा अनमोल गुरुङको संगीत, सोनाली शिल्पकारको मेकअप रहेको छ । फिल्मको सह-निर्माता अनिल मानन्धर र पिकेश मानन्धर रहेका छन् । दिव्य दृश्य इन्टरटेन्टमेन्टले निर्माण गर्न लागेको फिल्ममा इन एसोसिएसन विथ मान्द्रो प्रोडक्सन र मल्टी प्रपोज प्रालिको रहेको छ ।