काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसभित्र फेरि हिन्दु राष्ट्रको एजेण्डामाथि बहस छेडिएको छ । शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा कांग्रेसका २२ केन्द्रीय सदस्यहरुले लिखित रूपमै हस्ताक्षरसहित हिन्दु राष्ट्रको पक्षमा उभिन पुरक प्रस्ताव दर्ता गराएका छन् । जसले पार्टीलाई पुनः धर्मको एजेण्डामाथि छलफल गर्न बाध्य बनाएको छ ।
केन्द्रीय सदस्य शंकर भण्डारीले पार्टी सभापति शेरबहादुर देउवालाई हिन्दु राष्ट्रको पक्षमा उभिन आग्रहसहित प्रस्ताव पत्र बुझाएका हुन् । जुन प्रस्तावमा केन्द्रीय सदस्य र प्रदेश कार्यसमितिका सभापतिहरुले समेत हस्ताक्षर गरेका छन् ।
प्रस्तावमा भण्डारीसहित केन्द्रीय समितिका २२ सदस्यको हस्ताक्षर छ । उक्त प्रस्तावमा हस्ताक्षर गर्नेमा देवेन्द्रराज कँडेल, प्रकाश रसाइली स्नेही, शुक्रराज शर्मा, इन्द्रबहादुर बानियाँ, दिलेन्द्रप्रसाद बडू र रंगमति शाही छन् । यसैगरी, विद्या तिमल्सिना, गेहेन्द्र गिरी, सीता देवकोटा, अर्जुनजंगबहादुर सिंह, सीताकुमारी रानालगायत छन् ।
यस्तै, केन्द्रीय सदस्य पुष्पा भुसाल, सारदा पौडेल, चम्पादेवी खड्का, नागिना यादव, नृपबहादुर बड, सञ्जय गौतम, भीम पराजुली, दिनेश कोइराला, मुक्ताकुमारी यादव र डा डिला संग्रौलालगायत पनि छन् ।
आम जनताको भावनालाई कदर गर्नको निम्ति पनि कांग्रेस हिन्दु राष्ट्रको पक्षमा उभिनुपर्ने तर्क प्रस्तावमा गरिएको छ । ९४ प्रतिशतभन्दा बढी हिन्दुहरु रहेको मुलुकमा धर्म निरपेक्षता लाद्दा धेरैको भावनामा चोट पुगेको तर्क नेताहरुको छ ।
“कांग्रेस जस्तो व्यापक जनआधार भएको प्रजातान्त्रिक पार्टीले नेपाली भूमिमा पादुर्भाव भएको बौद्ध एवम् किरात धर्म, दर्शन, संस्कृतिसहित ९४ प्रतिशत भन्दाबढी वैदिक सनातन हिन्दूधर्म र संस्कृतिमा आस्था र विश्वास राख्ने जनताको भावनालाई पूरै उपेक्षा गरी राष्ट्रिय एकताका आधार, आपसी सद्भाव, सहिष्णुता, सहअस्तित्वको अभ्यासमा खलल पुग्ने गरी नेपाली कांग्रेस धर्म निरपेक्षताको पक्षमा उभिनु ठिक थिएन”, प्रस्तावमा भनिएको छ ।
नेताहरुले आगामी फागुन ७ गते देखि हुने महासमिति बैठकका लागि प्रस्ताव तयार गर्न केन्द्रीय कार्यसमिति बैठकमा प्रस्ताव लगेका हुन्। यसअघिको महासमिति बैठकमा पनि बहुमत सदस्यहरु हिन्दु राष्ट्रको पक्षमा उभिएका थिए । यद्यपि, निर्णय हुन सकेको थिए ।
शीर्ष नेतृत्व नै हिन्दु राष्ट्रको पक्षमा
कांग्रेसभित्र क्रमशः हिन्दु राष्ट्रको पक्षमा माहोल बनिरहेको छ । कांग्रेसका शीर्ष नेताहरुले नै पार्टीलाई हिन्दु राष्ट्रको पक्षमा उभ्याउनु पर्ने बताउन थालेका छन् ।
अहिले विशेषगरी पूर्वमहामन्त्री एवम् कांग्रेसका प्रभावशाली नेता डा. शशांक कोइरालाले पार्टीलाई हिन्दु राष्ट्रको पक्षमा उभ्याउन छलफल नै चलाइरहेका छन् । जसमा पार्टी सभापति देउवाको पनि सकारात्मक संकेत देखिन्छ । सार्वजनिकरूपमै देउवाले पनि हिन्दु राष्ट्रको विषयमा छलफल गर्न सकिने बताएका थिए ।
अहिले कांग्रेसभित्र केन्द्रीय सदस्य तथा पूर्वमन्त्री शंकर भण्डारी अभियान नै बनाएर पार्टीलाई हिन्दु राष्ट्रको पक्षमा उभ्याउन लागेका छन् । गत आइतबार हिन्दु राष्ट्रको पक्षमा अभियान चलाउन भण्डारीको अध्यक्षता समिति नै गठन गरिएको थियो ।
जसमा पूर्वगृहराज्यमन्त्री तथा केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल, काठमाडौं जिल्लाका पूर्वसभापति लोकेश ढकाल, नेता भानुभक्त ढकाल, लक्ष्मण घिमिरेलगायत छन् ।
जे–जसरी आन्तरिक माहोल तयार भइरहेको छ, यसले कांग्रेसलाई नीतिगतरूपमै हिन्दु राष्ट्रको पक्षमा उभ्याउने सम्भावना बढाएको धेरैको विश्लेषण छ । यद्यपि, राष्ट्रिय राजनीतिको असहजतालाई हेर्दै कांग्रेसले निर्णय भने अनुकुलमा गर्न सक्छ ।