काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी आईसीसी विश्वकप लिग–२ क्रिकेटमा नेदरल्यान्ड्सविरुद्ध नेपाल नौ विकेटले विजयी भएको छ । नेपालको जितमा ओपनर कुशल भुर्तेलले सानदार पारी खेले ।
ओपनर भुर्तेलले ११ बल खेल्दै २८ रन बनाउँदा भियिन किंग्माको बलमा क्याच आउट भए । यस क्रममा उनले तीन छक्का र दुई चौका प्रहार गरे । यसअघि नेदरल्यान्ड्सविरुद्ध बलिङ गरेका भुर्तेलले ४ विकेट लिएका थिए ।
यस्तै, नेपालका लागि अर्का ओपनर आसिफ शेखले ५४ रन बनाए । तेस्रो विकेटमा ब्याटिङ गर्न गएका अनिल साहले ५७ रन बनाए । यस क्रममा आसिफले एक छक्का र आठ चौका प्रहार गरे भने साहले चार छक्का र ६ चौका हाने ।
यसअघि ब्याटिङ गरेको नेदरल्यान्ड्स नेपाललाई १३८ रनको लक्ष्य दिएको थियो । नेदरल्यान्ड्सलाई १३७ रनमा अलआउट गराउँदा नेपालले कम लक्ष्य पाएको थियो । टस हारेर पहिला ब्याटिङ गरेको नेदरल्यान्ड्स ३९ ओभरमा अलआउट भयो ।
नेदरल्यान्ड्सका लागि कप्तान स्कट एडवार्ड्सले सर्वाधिक ३३ रन बनाए । बास डे लिडेले २७ रन तथा साइब्राण्ड एन्जलबच्र्टले २३ रन बनाए । कायल क्लाइनले नटआउट रहँदै ११ रन बनाएका थिए । नोआ क्रोएसले १२ रन बनाउँदा म्याक्स ओ डाउड र आर्यन दत्तले १०-१० रन मात्रै बनाउन सके ।
नेपालका लागि भुर्तेलले ४ विकेट लिँदा ललित राजवंशीले २ विकेट लिए । सोमपाल कामी र रोहित पौडेलले १-१ विकेट लिन सफल भए ।