काठमाडौं । सत्ता गठबन्धन दल नेकपा माओवादी केन्द्रसहित चार दल जोडिएको ‘समाजवादी मोर्चा’को संयोजकमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव चयन भएका छन् ।
आइतबार बिहान बालुवाटारमा बसेको मोर्चाको बैठकले आलोपालो प्रावधानअनुसार नयाँ संयोजकमा विप्लवलाई चयन गरेको हो । यसअघि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल संयोजक बनेका थिए ।
मोर्चाको बैठकपछि माओवादी केन्द्रका महासचिव देव गुरुङले अहिलेसम्म ५८ जिल्लामा समाजवादी मोर्चाको संयोजन समिति गठन भएको जानकारी दिएका छन् ।
गत साउन ४ गते माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र नेपाल कम्युनिस्ट पार्टी मिलेर समाजवादी मोर्चा घोषणा भएको थियो ।