काठमाडौं । नेकपा एमालेले भौतिक, पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको राजीनामा मागेको छ । एमाले सचेतक महेश बर्तौलाले बालकुमारी घटनामा दुई किशोरको मृत्युमा दोषी देखिएकाले उनलाई तुरुन्तै पदबाट निलम्बन गर्नु पर्ने बताए ।
‘अविलम्ब त्यस घटनासँग जोडिएका मन्त्री र गृह प्रशासन पनि यस घटनासँग जोडिने सम्भावना छ, त्यो घटनासँग जोडिएका मन्त्रीलाई अविलम्ब पदबाट हटाइयोस्,’ आइतबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै बर्तौलाले भने ।
संसद् सुरु हुनासाथ एमाले सांसदहरूले उठेर विरोध गरेपछि सभामुख घिमिरेले बर्तौलालाई बोल्न समय दिएका थिए ।
‘सरकारले बनाएको आयोगले सरकारका मन्त्री दोषी भन्यो, तर सरकारका मन्त्री दोषी भनेर किटान गरेको ३० घन्टा बित्दासमेत पदमै बहाल हुनुहुन्छ, मुख्य दोषी भनिएको मन्त्रीलाई आजसम्म बर्खास्त गरिएको हामीले सूचना पाएनौँ,’ उनले भने ।
उनले सामान्य सिपाहीलाई कारबाहीको डन्डा अनि मन्त्रीलाई उन्मुक्ति यो हुन नसक्ने भन्दै विरोज जनाएका थिए । उनले विधिको शासन कायम नगरी लत्याउने काम भइरहेको दाबी गरे ।