काठमाडौं । प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उत्तर दिन सुरु गरेका छन् । आइतबार बसेको बैठकमा सांसदहरूले प्रधानमन्त्रीलाई प्रश्न सोधेका थिए ।
सांसदहरूको प्रश्नमा उत्तर दिनुअघि प्रधानमन्त्रीले प्रतिपक्षी दल नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले उठाएको प्रश्नको उत्तर दिएका थिए । प्रतिपक्षी दलहरूले बालकुमारीको घटनामा दुई युवाको मृत्यु हुनुमा भौतिक, पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला दोषी ठहर भएको भन्दै राजीनामा मागेको थियो ।
यस क्रममा प्रधानमन्त्री प्रचण्डले सरकारले दुई युवाको मृत्यु भएलगत्तै सरकारले उचित क्षतिपूर्तिको व्यवस्था गरेको जानकारी दिए । उनले मृतकको परिवारलाई जनही १०–१० लाख रुपैयाँ दिनुको साथै परिवारको एक जनालाई रोजगारी दिने व्यवस्था गरेको बताए ।
‘मुख्यत बालकुमारी घटनाबारे म केही राख्न चाहन्छु, विषयलाई जुन ढंगले विषयन्तर गर्न खोजियो, जुन गलत सूचना भएको भन्न चाहन्छु,’ उनले भने ‘छानबिन समिति पक्कै पनि प्रतिपक्षीले बनाएको त होइन, यो त मेरै नेतृत्वमा बनेको हो, अहिलेसम्म मैले हेरेको छैन, आज क्याबिनेट बस्दैछ, अध्ययन गरेपछि कारबाही गरिन्छ ।’
यस क्रममा प्रधानमन्त्रीले भौतिक मन्त्रीको राजीनामा मौन बनेका थिए । तर, प्रतिपक्षी दलहरूले घटनामा मन्त्री दोषी भएको भन्दै राजीनामा मागेका थिए ।