काठमाडौं । बालकुमारी घटनामा सरकारी छानबिन आयोगले नै दोषी ठहर गरेपछि नेकपा (एकीकृत समाजवादी)काे तर्फबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेका प्रकाश ज्वालालाई तत्कालै बर्खास्ती गर्न माग उठेको छ । विशेषतः आइतबारकाे संसद बैठक नै मन्त्री ज्वालाको सन्दर्भमा केन्द्रीत रहेको थियो । विपक्षी दलहरुले तत्कालै राजीनामा नदिए वा बर्खास्ती नगरिए संसद चल्न नदिनेसम्मका भाषा बोलेका छन् ।
सांसदसँगको प्रश्नोत्तरका लागि संसद पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि दलहरुको विरोधपछि ‘आजै निर्णय लिन्छु’ भन्न बाध्य बने । उनले मन्त्रिपरिषद्को बैठकमार्फत सो विषयमा निर्णय लिने बताएका छन् ।
“छानबिन समिति (आयोग) प्रतिपक्षीले बनाएको त होइन, यो त नेपाल सरकारले नै बनाएको हो, मेरै प्रस्तावमा बनेको हो, छानबिन समितिले जो प्रतिवेदन ल्याएको छ, गृह मन्त्रालयले प्रतिवेदन बुझेको छ, आज मैले बुझ्दै छु”, प्रचण्डले भनेका छन्, “प्रधानमन्त्रीको हैसियतले अहिलेसम्म हेरेको छैन, आजै मन्त्रिपरिषद् बैठक छ, सरकारले बनाएको छानबिन समितिले ल्याएको प्रतिवेदनपछि आवश्यक कारबाही गरिन्छ ।”
बालकुमारी घटनाको सन्दर्भमा उच्च अदालतका पूर्वन्यायाधीश शेखर पौडेलको नेतृत्वमा गठित छानबिन आयोगले शुक्रबार प्रतिवेदन बुझाएको छ । तीन सदस्यीय आयोगले मन्त्री ज्वालालाई दोषी देखाएकाे छ । सरकारकै आयोगले दोषी देखाएपछि विपक्षी दलहरुले बर्खास्तीको माग गरेका हुन् ।
यद्यपि, मन्त्री ज्वालालाई बर्खास्तीको विषयमा गठबन्धनभित्र पनि सहमति जुटाउनुपर्ने देखिन्छ । एकीकृत समाजवादीको सहमति बिना प्रधानमन्त्रीले एक्लै बर्खास्ती निर्णय लिन असहज छ ।
निर्णय लिँदै एकीकृत समाजवादी
बालकुमारी घटनालगत्तै ज्वालालाई पदबाट बर्खास्ती गर्नुपर्ने माग चौतर्फीरुपमा उठेको थियो । तत्कालिन समय नै प्रधानमन्त्री प्रचण्डले सोबारे एकीकृत समाजवादीसँग छलफल गरेका थिए । तर, एकीकृत समाजवादीले असन्तुष्टि जनाएपछि उक्त विषय स्थगित भयो ।
तर, अहिले आयोगले नै दोषी देखाएपछि के गर्ने भन्ने विषय पेचिलो बनेको छ । एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे पार्टीभित्र आन्तरिक छलफल सुरु भएको बताउँछन् । उनका अनुसार पार्टीले छिट्टै यस विषयमा धारणा सार्वजनिक गर्नेछ ।
“आयोगले प्रतिवेदन बुझाएको र प्रतिवेदनमा ज्वालाले कमजोरी गरेको भन्ने विषय बाहिर आएको छ, औपचारिकरुपमा हामीसँग आएको छैन”, उनले भनेका छन्, “जसरी विषय उठेको छ, यसबारे बैठक बसेर निर्णय लिन्छौं ।”
कमजोरी भए सच्चिएर जानु आवश्यकता रहेको भन्दै उनले आयोगको प्रतिवेदन हेरेपछि निर्णय लिइने बताए ।
यद्दपि, एकीकृत समाजवादीभित्र यसअघि नै सरकारमा सहभागि दुवै मन्त्री फेर्ने विषय उठेको थियो । जसबारे पार्टी अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीलाई भेटेरै भनेका थिए । तर, गठबन्धनभित्र सहमति नजुट्दा मन्त्री हेरफेर हुन सकेको थिए ।
उपाध्यक्ष पाण्डेका अनुसार एकीकृत समाजवादी समग्र मन्त्रीकै हेरफेरको पक्षमा छ ।
“हाम्रो पार्टीभित्र अहिले होइन, धेरै अघि नै समीक्षा भएको विषय हो, दुवै मन्त्रीको कार्यसम्पादन चित्तबुझ्दो भएन भन्ने धेरैकाे धारणा छ”, उनले भनेका छन्, “यस विषयमा छलफल गरेर निर्णयमा पुग्नुपर्छ भन्ने हो । सरकार सबै मन्त्रीबारे छलफल गर्नुपर्छ भन्ने हाम्रो मत छ ।”
हाल प्रचण्ड नेतृत्वको सरकारमा एकीकृत समाजवादीको तर्फबाट दुई फूल मन्त्री र एक राज्यमन्त्री छन् । प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको जिम्मेवारीमा छन् भने डा. बेदुराम भुसाल कृषि मन्त्रीको जिम्मेवारीमा छन् । यस्तै, नन्दा चपाई भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्रीको जिम्मेवारी छिन् ।
विशेषगरी फूल मन्त्रीको रुपमा रहेका ज्वाला र भुसालको कामप्रति स्वयम् एकीकृत समाजवादी सन्तुष्ट छैन् । प्रधानमन्त्रीले पनि दुई मन्त्रीका कामबारे असन्तुष्टि जनाउँदै आएका छन् ।
सम्बन्धित समाचार