गाजामा आक्रमण हुँदा ४० जनाको मृत्यु-Sutra News

गाजामा आक्रमण हुँदा ४० जनाको मृत्यु

आइतबार, ६ फाल्गुन २०८०

आइतबार, ६ फाल्गुन २०८०

काठमाडौं । गाजा पट्टीको मध्य क्षेत्रमा आवासीय घरलाई लक्षित गरी गरिएको इजरायली आक्रमणमा शनिबार कम्तिमा ४० जना प्यालेस्टिनीको मृत्यु भएको छ । घटनामा कैयौँ घाइते भएका छन् ।



प्यालेस्टिनी चिकित्सा स्रोतका अनुसार इजरायली लडाकू विमानले मध्य गाजा पट्टीको नुसिरात, अल जावैदा र देइर अल बलाह क्षेत्रका घरमा सशस्त्र छापा मार्दा दर्जनौँ मानिसहरूको मृत्यु हुनुका साथै धेरै घाइते भएका छन् ।

उद्धारकर्ताले ४० वटा शव उद्धार गर्न सक्षम भए भने अझै पनि दर्जनौँ भग्नावशेष मुनि रहेका छन् । मृतक तथा घाइतेलाई देइर अल बलाह सहरको अल अक्सा शहीद अस्पतालमा राखिएको छ ।

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार सात अक्टोबर २०२३ मा गाजा पट्टीमा इजरायली युद्ध सुरु भएदेखि मृत्यु प्यालेस्टिनीको संख्या २८ हजार ८५८ पुगेको छ ।

हमासले गाजापट्टीको छेउमा रहेका इजरायली सहरमा आक्रमण गरेपछि इजरायलले लगातार पाँचौं महिना गाजा पट्टीमा ठूलो मात्रामा सैन्य कारबाही चलाएको छ । सन् २०२३ को अक्टोबर ७ मा हमासले गरेको आक्रमणमा करिब एक हजार २०० इजरायलीको मृत्यु भएको थियो । दुई सयभन्दा बढी बन्धक बनाइएका थिए । बन्धकमध्ये करिब एक सयलाई युद्धविराम सम्झौताअन्तर्गत मुक्त गरिएको छ भने करिब ३० जनाको मृत्यु भएको र बाँकी अझै हमासको नियन्त्रणमा रहेको उल्लेख छ ।

आक्रमणको बदलामा इजरायलले गाजामा चलाएको सैन्य कारबाहीमा २८ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । मृतकमध्ये अधिकांश महिला, बालबालिका तथा निर्दोष सर्वसाधारण रहेका प्यालेष्टिनी प्रशासनले दाबी गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट