तनहुँ । जिल्लाको आँबुखैरेनी गाउँपालिका १ गिरौनचोरस्थित भित्री सडक खण्डमा सोमबार बिहान जन्ती बोकेको जीप दुर्घटनाको मृतकका पहिचान खुलेको छ ।
मृत्य हुनेमा आँबुखैरेनी गाउँपालिका ६ छापस्वाँराका ७२ वर्षीय आसवीर गुरुङ र व्यास नगरपालिका ९ गजौडे का १७ वर्षीया तुलसी गुरुङ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आसवीरको घटनास्थलमै र तुलसीको उपचारका क्रममा चितवनस्थित नयाँ मेडिकल कलेजमा मृत्यु भएको हो ।
बरादी-हिलेखर्कस्थित भित्री सकखण्डमा जन्ती बोकेको बा १८ च ५९२१ नम्बरको बोलेरो जीप सोमबार बिहान दुर्घटना भएको थियो । दुर्घटनामा १६ जना घाइते भएका छन् । अनियन्त्रित भई सडकबाट अन्दाजी पाँच सय मिटर तल जीप खस्दा दुर्घटना भएको प्रहरीले उल्लेख गरेको छ ।
दुर्घटनामा आँबुखैरेनी गाउँपालिका ६ प्यूघरका १५ वर्षीया सुविना गुरुङ, सोही ठाउँका ६७ वर्षीय मनबहादुर गुरुङ, ३८ वर्षीया सुकमाया गुरुङ, छ वर्षीया एलिसा गुरुङ, १९ वर्षीया सविता गुरुङ र बन्दीपुर गाउँपालिका ३ सुखौरा बस्ने १० वर्षीय शिशिर गुरुङ घाइते भएको प्रहरीले जनाएको छ । घाइतेको आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको छ ।
यसैगरी आँबुखैरेनी ६ छापस्वाँराका ५६ वर्षीय सोमलाल गुरुङ, प्युघरफाँट बस्ने ७० वर्षीय भक्कुलाल गुरुङ, ५६ वर्षीय शेरबहादुर गुरुङ, ३६ वर्षीया आसमाया गुरुङ, १० वर्षीया दीक्षा गुरुङ, ५२ वर्षीय सेते गुरुङ, आँबुखैरेनी १ गिरौनचौर बस्ने जीपचालक ३८ वर्षीय राजकुमार विश्वकर्मा, आँबुखैरेनी ६ छापस्वाँराका ३६ वर्षीया चिजकुमारी गुरुङ, १८ महिने सुसान गुरुङ, ३७ वर्षीया सुनिता गुरुङ घाइते भएका छन् ।
उनीहरूको चितवनस्थित नयाँ मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।