काठमाडौं । फिल्म ‘गोर्खा वारियर’को प्रिमियर धरानमा सम्पन्न भएको छ ।
फागुनको ११ गतेबाट रिलिजमा आउन लागेको फिल्मको फ्रेन्ड्स सिनेमाज् हलमा शनिबार बेलुकी भब्य प्रिमियर कार्यक्रम गरिएको थियो ।
‘हाम्रो कथा हाम्रो सिनेमा, हामीले नहेरे कस्ले हेर्ने’ नारा सहित गरिएको प्रिमियरमा कोशी प्रदेशका केदार कार्कीको प्रमुख अतिथिको रुपमा उपस्थित थिए भने धरान उपमहानगर पालिकाका मेयर हर्क साम्पाङ विशिष्ट अतिथिको रुपमा उपस्थित रहेका थिए ।
फिल्मको प्रिमियरमा विभिन्न राजनीतिक दलका नेतादेखि फिल्मका निर्देशक मिलन चाम्स, मुख्य कलाकारहरू विजय लामा, रितेश चाम्स, रेबिका गुरुङको साथमा निर्माता सुमन राई, सह–निर्माता ज्योती राज राई उपस्थित थिए ।
निर्देशक चाम्स र उनको टिमले भव्य रुपमा प्रिमियर गर्दै गर्दा प्रतिक्रिया पनि उत्कृष्ट पाएको छ । प्रिमियरबाट उत्कृष्ट प्रतिक्रिया प्राप्त भएपछि चाम्सल थप उत्साहित देखिएका छन् ।
फिल्म हेरेपछि मुख्य मन्त्री कार्कीले निर्देशक मिलन चाम्सले गोर्खा सैनिकको जीवन संघर्षको कथालाई उठान गरेको बताए । यस्तै, मेयर साम्पाङले आफूले हेरेका फिल्ममध्ये ‘गोर्खा वारियर’ सबैभन्दा उत्कृष्ट बनेको र बीर गोर्खाली सैनिकको सँघर्षसँगै पीडाको कथामा बनेको यो फिल्म साँच्चै मार्मिक र ससक्त रहेको बताएका छन् । उनले, फिल्म हेर्दा आफूले आँसु रोक्न नसकेको बताए ।
वार–ड्रामा रहेको फिल्मलाई धरानपछि पोखरा र काठमाडौंमा प्रिमियर गर्ने तयारी निर्माण पक्षले गरेको छ । निर्माताले प्रिमियरका लागि पोखरा र धरानजस्ता लाहुरे बहुल थलो छानेका छन् । फिल्मको ब्यवसायिक भविष्यका लागि यी दुईको प्रवद्र्धन महत्वपूर्ण हुनसक्ने ठानिएको छ ।
यो फिल्मको केही महिनाअघि बेलायतमा ऐतिहासिक रेड कार्पेट प्रिमियरसमेत गरिएको थियो । साथै, प्रतिष्ठित ब्रिटिस एकेडेमी अफ फिल्म एण्ड टेलिभिजन आर्ट्स (बाफ्टा) अवार्डस्मा यो फिल्मले ‘इन्ट्री’ गरेपछि अन्तर्राष्ट्रिय जगतमै चर्चा कमाएको छ ।
यो फिल्ममा दोस्रो विश्व युद्धअन्तर्गत मलायाको युद्धमा गोर्खा सैनिकले वीरताका साथ लडेर हासिल गरेको सफलताको कथा विषय बनाइएको छ ।
‘गुरिल्ला युद्ध’को नामले चर्चित ‘मलाया युद्ध’ सन् १९४८ मा सुरु भएर १९६० मा अन्त्य भएको थियो । यो फिल्मले पनि त्यस मलायाको जङ्गलमा नेपाली गोर्खाली सेनाले देखाएको वीरताको कथालाई उठान गरेको छ ।