काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी दिनमा राजनीतिक गठबन्धन गर्ने वा नगर्ने भन्नेबारे परिस्थितिअनुसार हुने बताएका छन् ।
ललितपुरको गोदावरीमा सोमबारदेखि सुरु भएको महासमिति बैठकमा बोल्दै देउवाले गठबन्धनको औचित्य, सान्दर्भिकतालगायत विषयमा छलफलपछि निर्णय गर्ने बताए ।
‘भविष्यमा राजनीतिक गठबन्धन गर्ने वा नगर्ने भन्ने विषयमा तत्कालीन परिस्थितिमा निर्भर हुने भएको हुँदा पार्टीले तत्कालीन परिस्थिति अनुसार गठबन्धनको औचित्य, सान्दर्भिकता लगायतका विषयमा ठोस मूल्यांकन र छलफल गरी त्यसै बेलामा उचित निर्णय लिन सक्ने छ,’ उनले भने ।
पार्टी महामन्त्री गगन थापाले २०८४ मा कुनै पनि दलसँग गठबन्धन नगरी चुनाव लड्न यही महासमितिको बैठकमा पारित गर्नु पर्ने प्रस्ताव तयार पारेका छन् । उक्त विषयमा देउवा र थापाबीच पटक–पटक छलफल हुँदै आएको थियो । तर, उनीहरूबीच सहमति जुट्न सकेको छैन । बैठक फेरि बस्ने गरी स्थगित भएको थियो ।
उक्त बैठक महासमितिको उद्घाटनपछि बस्ने भनिएको छ । थापाको प्रतिवेदनका कारण देउवा दबाबमा पर्दै आएका छन् ।