फिल्म ‘डिग्री माइला’को टिजर सर्वजनिक-Sutra News

फिल्म ‘डिग्री माइला’को टिजर सर्वजनिक

सोमबार, ७ फाल्गुन २०८०

सोमबार, ७ फाल्गुन २०८०

काठमाडौं । रामबाबु गुरुङ निर्देशित फिल्म ‘डिग्री माइलाः एमए थर्ड क्लास’ को टिजर सर्वजनिक गरिएको छ ।



सार्वजनिक टिजरमा मास्टर डिग्री पास गरेका एक बेरोजगार पात्रको कथा देखाइएको छ । शैक्षिक बेरोजगारीमाथि व्यंग्य गर्ने टिजरले गाउँको बेरोजगार डिग्रीधारीलाई शिक्षकको जागिरमा लिन हेडमास्टरले कनिकुथी अंग्रेजीमा लिएको प्रसंगदेखि आफैंलाई अहम् ठान्ने डिग्री माइलाको चरित्रको किस्सा प्रस्तुत गरेको देख्न सकिन्छ ।

यस्तै, टिजरको अन्त्यमा दयाले आफ्ना बाबुलाई आफूलेचौधरी ग्रुपले मासिक  लाख को जागिर प्रस्ताव लत्याएको भनेर भनेको दृश्यसमेत समावेश गरिएको छ।

बाँसुरी फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्मको शिर्ष भूमिकामा दयाहाङ राई छन् । उनको जोडीको रुपमा नायिका आँचल शर्मा छिन् ।

दया र आँचलको फिल्मका लागि यो पहिलो सहकार्य हो । आँचलले यसअघि दयाहाङसँग एउटा म्यूजिक भिडियोमा काम गरेकी थिइन् ।

फिल्ममा दया र आँचलका अलावा विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरे, कमलमणि नेपाल, शेखर चापागाइ, हिउवाला गौतम, सोमनाथ खनाल, पशुपति राई, लोकेन्द्र लेखक, अनिल सुब्बालगायत कलाकारको अभिनय छ ।

बाँसुरी फिल्मस् र कबड्डी फिल्मस्ले सुष्मा प्रोडक्शनसँग सहकार्य गर्दै निर्माण गरेको फिल्म ‘डिग्री माइला’को माध्यमबाट बेरोजगारीसँगै नेपाली समाजको चित्र पस्किन खोजिएको छ । सोही नाममा मण्डला थिएटरले वि. सं २०७१ सालमा दयाहाङकै निर्देशनमा नाटक मञ्चन गरेको थियो । फिल्मको कथा पनि यही नाटकको सेरोफेरोमा रहेको बुझन सकिन्छ ।

हास्य रसमा पेस हुने यो फिल्मले ‘किन चाउरियो मरिच, आफ्नै रागले’लाई आफ्नो कथाको थिम बनाएको छ । फिल्मको छायांकन ओखलढुंगाको रूम्जाटार र काठमाडौंमा गरिएको हो ।

आगामी  २०८१ को नयाँ वर्षमा रिलिज हुने फिल्मलाई दुई क्यामराम्यान शिवराम श्रेष्ठ तथा राइली एस शिनले खिचेका छन्। फिल्ममा नेमिश श्रेष्ठको सम्पादन तथा रोहित शाक्यको ब्याकग्राउण्ड म्यूजिक रहेको छ।

आउँदो बर्षको सुरुवातमै बक्स अफिसमा धमाका गर्ने अपेक्षा गरिएको यो फिल्म निर्देशक रामबाबुका लागि पनि चुनौतीपूर्ण छ । किनकी, ‘कबड्डी’ सिरिजबाहेक अन्य फिल्ममा सफल हुन नसकेका रामबाबुलाई यो फिल्म सफल बनाउनुपर्ने चुनौती छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट