दुई महामन्त्रीको चेपुवामा देउवा- गठबन्धन भत्किने डरले प्रतिवेदन सच्याउन माग-Sutra News

दुई महामन्त्रीको चेपुवामा देउवा- गठबन्धन भत्किने डरले प्रतिवेदन सच्याउन माग

सोमबार, ७ फाल्गुन २०८०

सोमबार, ७ फाल्गुन २०८०

काठमाडौं । महासमितिको बैठक उद्घाटन भएसँगै नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक आह्वान गरेका छन् । बैठकमा देउवाले पदाधिकारी र पूर्वपदाधिकारीलाई बोलाएका छन् ।



बैठक देउवा निवास बूढानीलकण्ठमा बस्ने छ । महामन्त्री गगन थापाको सांगठनिक प्रतिवेदनमा चुनावी गठबन्धन नगर्ने उल्लेख गरेसँगै सभापति देउवाले पटक–पटक बैठक बोलाउँदै आएका छन् ।

‘भविष्यमा राजनीतिक गठबन्धन गर्ने वा नगर्ने भन्ने विषय तत्कालीन परिस्थितिमा निर्भर हुने भएको हुँदा पार्टीले तत्कालीन परिस्थितिअनुसार गठबन्धनको औचित्य सान्दर्भिकतालगायतका विषयमा ठोस मूल्याङ्कन र छलफल गरी त्यसै बेलामा उचित निर्णय लिन सक्ने छ,’ महासमितिको उद्घाटन गर्दै देउवाले भने ।

देउवाले अस्वीकार गरे पनि महामन्त्री थापा अहिले नै गठबन्धन नगर्ने संकल्प गरेर जानु पर्ने अडानमा अडिग छन् । गगनको अडानले सत्ता गठबन्धनमा तलमाथि हुन सक्ने भन्दै देउवाले यस बुँदालाई हटाउने पक्षमा छन् ।

महामन्त्री थापा आफ्नो अडानबाट पछि नहड्ने भएपछि शनिबारदेखि बस्दै आएको वार्ता निष्कर्षमा पुग्न सकेको छैन ।

देउवाले अर्का महामन्त्री विश्वप्रकाश शर्माले तयार पारेको राजनीतिक प्रतिवेदनमाथि पनि टिप्पणी गर्दै आएका छन् । उनले कोशीको प्रसंग हटाउन महामन्त्री शर्मालाई दबाब दिएका छन् । शर्माले कोशी प्रकरणपछि जुनसुकै बेलामा गठबन्धन संकटमा पर्न सक्ने जनाएका छन् ।

सभापति देउवा पक्षका नेताहरू निर्वाचन रणनीतिक हुने भएकाले अहिले घोषणा गर्नु नहुने बताउँदै आएका छन् । यता महामन्त्री थापाको प्रतिवेदनलाई डा. शेखर कोइराला पक्षले समर्थन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट