कांग्रेस महासमिति बैठक : आजदेखि बन्दसत्र-Sutra News

कांग्रेस महासमिति बैठक : आजदेखि बन्दसत्र

मंगलबार, ८ फाल्गुन २०८०

मंगलबार, ८ फाल्गुन २०८०

काठमाडाैं । नेपाली कांग्रेसको महासमिति बैठकको बन्दसत्र आजदेखि सुरु भएकाे छ । सोमबार उद्घाटनसत्रसँगै सकिएको महासमितिको बैठक आजदेखि बन्दसत्र सुरु भएकाे कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा छलफलका लागि पाँचवटा प्रतिवेदन पेस हुन लागेका छन् ।



मुख्यसचिव पौडेलका अनुसार बैठकमा पार्टीका उपसभापति एवम् उपप्रधानमन्त्री पूर्णबहादुर खड्काद्वारा प्रस्तुत नीति प्रस्ताव, महामन्त्री गगनकुमार थापाद्वारा प्रस्तुत सांगठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माद्वारा प्रस्तुत समसामयिक राजनीतिक प्रस्ताव पेस हुन लागेको छ ।

यस्तै, पार्टीका प्रवक्ता एवम् अर्थमन्त्री डा प्रकाशशरण महतद्वारा प्रस्तुत आर्थिक अवस्था, सम्भावना र भावी दिशासम्बन्धी प्रस्ताव र लेखा समितिका संयोजक श्यामकुमार घिमिरेले लेखा परीक्षण प्रतिवेदन प्रस्ताव पेस गर्न लागेको पार्टीका सूचना, सञ्चार तथा प्रचार विभागका संयोजक मीनबहादुर विश्वकर्माले जानकारी दिए ।

बैठकमा पेस भएका प्रस्तावबारे महासमितिको बैठकमा छलफल गरी पास हुनेछन् । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा सोमबारदेखि सुरु भएको महासमिति बैठक फागुन १० गतेसम्म चल्नेछ ।

कांग्रेसको महासमिति बैठकमा भाग लिनका लागि देशैभरका महासमिति सदस्य र विदेशस्थित जनसम्पर्क समितिका प्रतिनिधि काठमाडौं आइपुगेका छन् । बैठकमा दुई हजारभन्दा बढी प्रतिनिधिको सहभागिता रहेको छ ।

बसको व्यवस्था

महासमितिको बैठकमा भाग लिन आएका सदस्यलाई आवतजावतका लागि २० बसको व्यवस्था गरेको छ । कांग्रेसको सोमदेखि सुरु भएको महासमिति बैठकमा भाग लिन संघीय राजधानी काठमाडौं आएका प्रतिनिधिलाई ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रसम्म आवतजावत गर्नका लागि बसको व्यवस्था गरेको हो ।

कांग्रेसले महासमिति बैठकलाई व्यवस्थितरूपमा सम्पन्न गर्न निर्माण गरेको यातायात व्यवस्थापन उपसमितिमार्फत काठमाडाैंबाट बैठकस्थल गोदावरीसम्म जान दैनिक २० बसको व्यवस्था गरेको हो । काठमाडौंबाट गोदावरी जान विभिन्न चार रुटबाट बस छुट्ने व्यवस्था मिलाइएको यातायात व्यवस्थापन उपसमितिका सदस्य सुवन गिरीले राससलाई जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट