आगामी वर्ष अधिकांश बैंकले दिन सक्दैनन् लाभांश-Sutra News

आगामी वर्ष अधिकांश बैंकले दिन सक्दैनन् लाभांश

मंगलबार, ८ फाल्गुन २०८०

मंगलबार, ८ फाल्गुन २०८०

काठमाडौं । अधिकांश वाणिज्य बैंकहरुको प्राथमिक पुँजी कोष अनुपातमा अझै सुधार आएको छैन । चालु आर्थिक वर्षको पुस मसान्तसम्मको तथ्यांकअनुसार अधिकांश वाणिज्य बैंकहरुको प्राथमिक पुँजी कोष केन्द्रीय बैंकले तोकेको व्यवस्थाअनुरुप छैन । पुँजी कोष कायम गर्ने दबाबकै कारण बैंकहरुले लगानी विस्तारसमेत गर्न सकेका छैनन् ।



केन्द्रीय बैंकले कायम गरेको व्यवस्थाअनुसार आगामी असारभित्र हाल कायम रहेको ८.५ प्रतिशतको प्राथमिक पुँजी कोषलाई ९ प्रतिशत पुर्‍याउनु पर्नेछ । त्यसैले, प्राथमिक पुँजी कोष ९ प्रतिशतभन्दा कम भएका सबै वाणिज्य बैंकहरूलाई दबाब परेको हो । नौ प्रतिशतभन्दा कम पुँजी कोष भएका बैंकहरुले आगामी वर्ष लाभांश दिन सक्दैनन् ।

राष्ट्र बैंकले उपलब्ध गराएको तथ्यांकअनुसार कुमारी, प्रभु, माछापुच्छ्रे, हिमालयनलगायतका बैंकको पुँजी कोष नौ प्रतिशतभन्दा मुनि छ । जसको कारण यी बैंकलाई कोष बृद्धिको दबाब छ ।

तथ्यांकअनुसार पुस मसान्तसम्म कुमारी बैंकको ८.०३, प्रभुको ८.१२, माछापुच्छ्रेको ८.६६, हिमालयनको ८.७० र नबिलको ८.९३ प्रतिशत छ ।

राष्ट्र बैंकले तोकेको पुँजीकोष पुर्‍याउन नसक्ने बैंकले आगामी वर्ष लाभांश दिन सक्दैनन् । केन्द्रीय बैंकले तोकिएकोभन्दा कम भएका बैंकहरुलाई लाभांश वितरणमा रोक लगाउने गरेको छ ।

पुससम्मको तथ्यांकलाई हेर्दा, कुमारी बैंक र प्रभु बैंकले आगामी वर्ष लाभांश वितरण गर्न सक्दैनन् । यदि हालकै अवस्था कायम रहेका माछापुच्छ्रे, नबिल र हिमालयनले पनि लाभांश वितरण गर्न सक्ने अवस्था देखिन्न ।

नेपाल राष्ट्र बैंकले काउन्टर साइक्लिकल बफर थप ०.५ प्रतिशत कायम गर्नुपर्ने व्यवस्था गरेसँगै बैंकहरूले चालु आवभित्रै ९ प्रतिशतको प्राथमिक पुँजीकोष कायम गर्नुपर्छ ।

काउन्टर साइक्लिकल बफरको नामको यस्तो अतिरिक्त कोषमा थप रकम राख्नुपर्ने हुन्छ । अहिले पुँजी दबाबमा देखिएका बैंकहरूमध्ये केही एक दुई वर्षदखि नै दबाबमा देखिएका थिए ।

कुन बैंकको प्राथमिक पुँजीकोष कति ?

कुमारी : ८.०३

प्रभु : ८.१२

माछापुच्छ्रे : ८.६६

हिमालयन : ८.७०

नबिल : ८.९३

एनआइसी एसिया : ९.०४

सिटिजन्स : ९.०६

सिद्धार्थ : ९.१५

एनएमबि : ९.२५

नेपाल एसबिआई : ९.६१

लक्ष्मी सनराइज : ९.६६

ग्लोबल आइएमई बैंक : ९.८५

सानिमा : ९.९६

राष्ट्रिय वाणिज्य बैंक : १०.३७

नेपाल बैंक : १०.४३

प्राइम कमर्सियल बैंक : १०.५९

एभरेष्ट : १०.६१

नेपाल इन्भेष्टमेन्ट मेगा : १०.६४

कृषि विकास : ११.४५

स्टाण्डर्डै चार्टड : १३.२६

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट