काठमाडौं । नेपाली कांग्रेसको सभापतिको जिम्मेवारीमा रहेका शेरबहादुर देउवा समग्र राजनीतिका चतुर खेलाडी हुन् । मौन बसेर कठोर निर्णय गर्ने उनी आफ्नो विपक्षीमा रहेका नेताहरुलाई आफ्नै पक्षमा पार्न सफल हुन्छन् ।
राजनीतिक जीवनकालमा सधैँ विपक्षी मत राख्दै आएका रामचन्द्र पौडेललाई देउवाले पार्टीको १४ औँ महाधिवेशनमा सुटुक्क आफ्नो ‘क्याम्प’मा ल्याए । दोस्रो कार्यकालका लागि सभापति जिताएका पौडेललाई देउवाले राष्ट्रपति बनाइदिए ।
पार्टीभित्र एउटा गुटका नेता पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि देउवाको विपक्षीमा देखिए डा. शेखर कोइराला–गगन थापा । कोइराला १४ औँ महाधिवेशनमा देउवासँग सभापतिमा पराजित भएका हुन् भने थापा महामन्त्रीमा विजयी भएका थिए । महाधिवेशनपछि पनि कतिपय नेताहरुलाई देउवाले आफ्नै पक्षमा लैजान सफल भए । यता शेखर–गगनको गुट कमजोर बन्दै गए ।
सभापति देउवाले शेखर–गगनको गुटलाई पेलेर बोल्न नसक्ने अवस्थामा पुर्याए । जसका कारण गत वर्ष सम्पन्न आम निर्वाचनमा देउवाले एकलौटी रुपमा आफूनजिकका नेताहरुलाई टिकट दिए । शेखर–गगन पक्षले विरोध गर्दा मौन बसेका देउवा चुनाव र पार्टीभित्र एकैपटक विजयी भए ।
१४ औँ महाधिवेशनपछि पार्टीभित्र एकलौटी शासन गर्दै आएका देउवा सोमबारदेखि सुरु भएको महासमिति बैठकमा भने केही कमजोररुपमा प्रस्तुत भएका छन् । आफूले पेल्दै आएको महामन्त्री थापाले तयार पारेको सांगठनिक प्रस्तावसँगै देउवा कमजोर देखिएका हुन् ।
महामन्त्री थापाको चेपुवामा परेका देउवालाई देश र जनताभन्दा मुखमै आएको प्रधानमन्त्री पद जाने हो कि भन्ने डर बढी देखिन्थ्यो । छैटौँपटक प्रधानमन्त्री बन्न नपाउने डरसँगै देउवाले गत शनिबारदेखि पार्टीका पदाधिकारी तथा पूर्वपदाधिकारीसँग थापाले तयार पारेको प्रस्तावमाथि बारम्बार छलफल गरेका थिए ।
थापाको प्रस्तावमा सहमति जुट्न नसके पनि सोमबार दिउँसो कांग्रेस महासमिति बैठक उद्घाटन भएको थियो । यस क्रममा देउवाले थापालाई लक्षित गर्दै भने, ‘भविष्यमा राजनीतिक गठबन्धन गर्ने वा नगर्ने भन्ने विषय तत्कालीन परिस्थितिमा निर्भर हुने भएको हुँदा पार्टीले तत्कालीन परिस्थितिअनुसार गठबन्धनको औचित्य सान्दर्भिकतालगायतका विषयमा ठोस मूल्याङ्कन र छलफल गरी त्यसै बेलामा उचित निर्णय लिन सक्नेछ ।’
महासमिति बैठक उद्घाटनपछि सोमबार अपराह्न देउवा निवास बूढानीलकण्ठमा करिब पाँच घण्टा पदाधिकारी र पूर्वपदाधिकारीसँग बैठकमा बसेपछि अन्ततः महामन्त्री थापाको प्रस्तावमा सहमति भएको छ । तर, बैठक चलिरहँदा देउवा र उपसभापति पूर्णबहादुर खड्का प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।
बालुवाटार पुगेका देउवा र खड्काले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादी पार्टी अध्यक्ष माधव कुमार नेपालसँग वार्ता गरे । उनीहरुले सत्ता गठबन्धन दलका नेताहरुलाई आफ्नो पार्टीभित्र महामन्त्री थापाले पेश गर्ने सांगठनिक प्रस्तावबारे जानकारी गराएका थिए ।
कांग्रेसभित्र तरङ्ग ल्याएर देउवालाई चेपुवामा पार्ने गरी गगन थापाले सांगठनिक प्रस्तावमा ‘०७९ को चुनावमा गठबन्धन गर्नु हाम्रो बाध्यता थियो, तर नेपाली कांग्रेस दृढ संकल्प गर्छ कि हामी आगामी चुनावहरू हाम्रो आफ्नै तागतमा एक्लै लड्ने छौँ, र हाम्रा समर्थक शुभेच्छुकलाई रूख चिह्नमा मात्रै मत हाल्न पाउने सुनिश्चित गर्ने छौँ,’ भन्ने शब्द लेखिएको छ ।
महामन्त्री थापाको प्रस्तावलाई आधार बनाएर पदाधिकारी बैठकमा सहभागी नेताहरूले देउवालाई प्रश्न गरेका थिए । सत्ता गठबन्धन दलभित्र चाँजोपाजो मिलाएर गएका देउवा यही प्रश्नको जवाफ दिँदै गगन थापाको प्रस्ताव मान्ने संकेत गरे । उनले भने, ‘ल ठिक छ, प्रस्तावको कुरा मानेँ, छपाइँ गर्न पठाए हुन्छ ।’
गगन थापाको एउटा वाक्यले चेपुवामा परेर बिचलित भएका देउवा सकारात्मक भए पनि उनी पक्षका नेताहरु हुन्न भनिरहेका थिए । तर, देउवाले मैले मानेँ भनेपछि सकियो भनेसँगै सबै चुप भए ।
यस क्रममा गगन थापालाई सहमहामन्त्रीहरू महालक्ष्मी उपाध्याय डिना, भिस्मराज आङ्देम्बे, बद्री पाण्डे, गोपालमान श्रेष्ठसहितका नेताहरुले साथ दिइरहे । तर, निर्णयक बैठकमा गगनसँगै एउटै गुटमा देखिएका नेता डा. कोइराला गएनन् । उनी पार्टीको पदाधिकारी नभए पनि बैठकमा बस्न बोलाइएको थियो ।
पार्टीको महामन्त्री भए पनि सधैँ सभापति देउवाको चेपुवामा पर्दै आएका गगन थापाले उचित समयमा पार्टीभित्र आफू हाबी हुने कदम बढाएका छन् । महासमिति बैठकमा उनले पेश गरेको सांगठनिक प्रस्तावलाई सबैले साथ दिने छन् । योसँगै आगामी निर्वाचनमा राजनैतिक दलको यथार्थ चित्र देखिने पक्का हुनेछ ।