ज्ञानेन्द्र र सरकारविरुद्ध आक्रोशित बने केपी ओली, भने– कुशको नक्कली राजतन्त्र खडा गरियो-Sutra News

ज्ञानेन्द्र र सरकारविरुद्ध आक्रोशित बने केपी ओली, भने– कुशको नक्कली राजतन्त्र खडा गरियो

मंगलबार, ८ फाल्गुन २०८०

मंगलबार, ८ फाल्गुन २०८०
फाइल तस्बिर

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धन एमालेको विरोधका लागि मात्रै केन्द्रीत भएको बताएका छन् ।



पार्टी कार्यालय च्यासलमा मंगलबार पार्टीको सातौं केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले जनता र मुलुकका मुद्दामा गठबन्धन केन्द्रीत नरहेको र नितान्त एमालेविरुद्ध केन्द्रीत रहेको दाबी गरेका हुन् ।

एमालेमाथिको प्रहार लोकतान्त्रिक अभ्यासबाट शान्तिपूर्ण तवरले प्ररास्त गर्ने उनको भनाइ थियो । उनले देशका लागि असफल भइसकेको गठबन्धनका कारण जनताको आक्रोश र निराशा भयावह ढंगले बढिरहेको आरोप लगाए ।

यस्तै, ओलीले सक्कली राजतन्त्र ५८ साल जेठ १९ गते समाप्त भइसकेको उल्लेख गर्दै त्यसपछि राजनीतिक कमजोरीको फाइदा उठाउँदै कुशको नक्कली राजतन्त्र खडा गरिएको तर्क गरे । उनले जनआन्दोलनको रापतापले फालेको राजतन्त्र फेरि ल्याउने मिठो सपना र कल्पना बोकेर आफ्नो दुनो सोझ्याउने धन्दा मौलाएको बताए ।

ओलीले झापाको गिरिबन्धु टी स्टेटको जग्गा सट्टापट्टा सम्बन्धमा केही तलमाथि नभएको भन्दै यस विषयमा अदालतले गरेको फैसलालाई लिएर विरोधीले प्रचार गर्न खोजेको बताए । फागुन १० गतेसम्म चल्ने एमाले केन्द्रीय कमिटीमा पार्टी निर्माणमा देखिएका समस्या र समाधानका उपाय, जनपरिचालन र दबाबको एजेण्डा तथा समसामयिक प्रस्तावमाथि छलफल भइ निष्कर्ष निकाल्ने एमालेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट