दोस्रो बजारमा प्रभु बैंकप्रति किन गुम्दैछ विश्वास ?-Sutra News

दोस्रो बजारमा प्रभु बैंकप्रति किन गुम्दैछ विश्वास ?

मंगलबार, ८ फाल्गुन २०८०

मंगलबार, ८ फाल्गुन २०८०

काठमाडौं । दोस्रो बजारमा कारोबार भइरहेका १९ वाणिज्य बैंकमध्ये सबैभन्दा कम मूल्य भएको बैंकमा प्रभु बैंक पनि पर्दछ । मंगलबारसम्मको कारोबारका आधारमा प्रभु बैंकको प्रतिकित्ता शेयर मूल्य जम्मा १५० रुपैयाँ ४० पैसा छ ।



यद्यपि, अघिल्लो कारोबार दिनको तुलनामा यो बढेको मूल्य हो ।

यस बैंकको शेयर मूल्य निरन्तर नै ओरालोमा छ । दुई वर्षको शेयर रिपोर्टलाई हेर्दा, यसको मूल्य झण्डै आधाभन्दा बढीले घटेको छ ।

दुई वर्षअघि फागुन पहिलो साता प्रभु बैंकको शेयर मूल्य प्रतिकित्ता ३२० रुपैयाँ थियो । जसको आधारमा मंगलबारको तुलना गर्दा दुई वर्षको बीचमा यस बैंकको शेयर मूल्यमा १७० रुपैयाँले गिरावट आएको छ ।

जसको आधारमा हेर्दा, प्रभु बैंकको दोस्रो बजारमा लगानी गर्ने लगानीकर्ता पूर्ण डुबेका छन् ।

अत्याधिक मूल्य घटेको अवस्थामा पनि प्रभुको उभोँ लाग्ने भने अवस्था छैन । निरन्तरको गिरावटका बीच बैंकको वित्तीय सूचकहरुमा थप नकारात्मक देखिएको छ । अहिले बैंकका लगानीकर्ता उत्साहित हुने कुनै पनि सूचक देखिन्नन् ।

बैंक आन्तरिक व्यवस्थापनले मात्रै अस्तव्यस्त भएको छैन, खराब ऋणले पनि डुब्न थालेको छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्मको वित्तीय विवरणलाई हेर्दा, प्रभु सर्वाधिक खराब कर्जा हुने बैंकमा गनिएको छ ।

राष्ट्र बैंकले संवेदनशील मानिएको खराब कर्जाको स्तरमा प्रभुको खराब कर्जाको दर पुगेको छ । प्रभु बैंकको खराब कर्जा ४.९ प्रतिशत छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा दोब्बरभन्दा बढी हो ।

अर्कोतर्फ, बैंक घाटामा गएसँगै लगानीकर्ताको पनि हात खाली हुन थालेको छ । गत आर्थिक वर्षको नाफाको आधारमा पाउनुपर्ने बोनस यसपटक लगानीकर्ताले पाएनन् । आगामी आर्थिक वर्षमा पनि लगानीकर्ताले नाफा पाउने अवस्था भने छैन । किनकी केन्द्रीय बैंकले तोकेको प्राथमिक पुँजी कोष कायम राख्ने सन्दर्भमा प्रभु बैंक चुकेको छ ।

पुससम्मको तथ्यांकअनुसार सबैभन्दा कम पुँजी कोष हुने बैंकमा प्रभु पनि परेको छ । बैंकको निर्धारित गरिएको भन्दा कम अर्थात् ८.१२ प्रतिशत पुँजीकोष देखिन्छ ।

जसको आधारमा आगामी आर्थिक वर्षमा पनि यस बैंकले लगानीकर्तालाई लाभांश वितरण गर्न सक्ने देखिन्न । जसलाई हेर्दा, प्रभु बैंक थप उधोँ लाग्ने अवस्थामा गएको भन्दा अतियुक्ती हुँदैन ।

सम्बन्धित समाचार

खराब कर्जाले थचारिँदै प्रभु बैंक

राष्ट्र बैंकलाई टेर्दैनन् प्रभु बैंकका ‘मालिक’ !

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट