काठमाडौं । नेपाल राष्ट्र बैंकले देशका समग्र बैंकिङ क्षेत्र सक्षम र सबल रहेको जनाएको छ । पछिल्लो समय एनआईसी एसिया बैंकविरुद्ध आएका अनेक प्रतिक्रियाका बीच बैंकले देशका समग्र बैंक सक्षम भएको बताएको हो ।
विज्ञप्ति जारी गर्दै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको सञ्चालन तथा स्थायित्वका सम्बन्धमा केही व्यक्ति तथा समूहले दिएको भ्रामक अभिव्यक्ति र दुष्प्रचारप्रति गम्भीर ध्यानाकर्षण गराएको छ ।
‘बैंक तथा वित्तीय संस्थाहरूले सर्वसाधारणको निक्षेप परिचालन गर्ने हुँदा राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिँदा र निरीक्षण तथा सुपरीवेक्षण गर्दासमेत सर्वसाधारणको निक्षेपको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेको हुन्छ,’ विज्ञप्तिमा भनिएको छ ।
यस्तै, राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था सञ्चालनको पछिल्लो अवस्था हेर्दा समग्र बैंकिङ क्षेत्र सक्षम र सबल रहेको जनाएको छ । यसैगरी राष्ट्र बैंकले सर्वसाधारणको निक्षेप पूर्ण रूपमा सुरक्षित रहेको व्यहोरा दिएको छ ।
कानूनले दिएको जिम्मेवारी बैंक तथा वित्तीय संस्थामा नियमित निरीक्षण र सुपरीवेक्षण गरिरहेको जनाउँदै राष्ट्र बैंकले अन्तर्राष्ट्रिय बैंकिङ सिद्धान्त तथा असल अभ्यासहरू समेतका आधारमा बैंक तथा वित्तीय संस्थामा निरीक्षण र सुपरीवेक्षण भइरहेको उल्लेख गरेको छ ।
कुनै बैंक तथा वित्तीय संस्थामा पूँजीकोष, तरलता र सीडी रेसियो जस्ता परिसूचकहरू तथा कर्जा, संस्थागत सुशासन लगायतका अन्य विषयमा कुनै समस्या देखिएमा समय–समयमा आवश्यक निर्देशन दिई सुधार गराउँदै आइरहेको राष्ट्र बैंकले स्पष्ट बनाएको छ ।