काठमाडौं । सरकारले बालकुमारी घटनासम्बन्धी प्रतिवेदनको अध्यनन सकिएपछि आवश्यक निर्णय लिइने जनाएको छ ।
मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता रेखा शर्माले बालकुमारी घटनाबारे सत्यतथ्य जाँचबुझ गर्न सरकारले गठन गरेको आयोगको प्रतिवेदन गृहमन्त्रीले प्रधानमन्त्रीलाई बुझाएको बताइन् ।
यस्तै, मन्त्रिपरिषद्ले तीनै तहका सरकारबीच रोयल्टी बाँडफाँटका आधारसहितका अनुसूची स्वीकृत गर्ने र सम्बन्धित प्रदेश तथा स्थानीय तहलाई रकम हस्तान्तरण गर्ने निर्णय गरेको उनको भनाइ थियो ।
बैठकले एनसेलको शेयर खरिद बिक्रीसम्बन्धी अध्ययन तथा छानविन गर्न गठित समितिको प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाउने निर्णयसमेत गरेको छ ।