काठमाडाैं । स्थानीय बजारमा सुनको माग घट्दा आयातमा उल्लेख्य गिरावट आएको छ । भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको छ महिना (साउन–पुस)मा सुनको आयातमा ५९.३ प्रतिशतले कमी आएको छ । सुनको मूल्य बढेसँगै आन्तरिक बजारमा खपत न्यून हुँदा आयातमा कमी आएको हो ।
उपभोक्ताको क्रयशक्ति न्यून हुँदा बजारमा माग पनि कम भएपछि त्यसको असर आयातमा पर्न गएको हो । विभागका अनुसार आव २०७९/८० मा ४३ अर्ब ८९ करोड ९८ लाख ९१ हजार रुपियाँको आयात भएको थियो ।
चालु आवको छ महिनामा भने सुनको आयात आधाभन्दा बढीले घटेको छ । चालु आवको सुरुदेखि नै सुनको आयातमा कमी हुँदै आएको हो । यो वर्ष मङ्सिर महिनामा सुनको मूल्य बढेर सबैभन्दा धेरै प्रतितोला एक लाख २२ हजार रुपियाँसम्म पुगेको थियो । पछिल्लो समय भने घटेर एक लाख १८ हजार रुपियाँमा झरेको छ ।
सुनचाँदी व्यवसायी तेजरत्न शाक्यले मूल्यवृद्धि, आर्थिक गतिविधि सक्रिय रूपमा चलायमान नहुनु, उपभोक्तासँग पर्याप्त क्रयशक्ति नहुँदा बजारमा सुनको माग घटेर आयातमा समेत कमी आएको जानकारी दिए ।
बजारमा माग न्यून हुँदा सुनको कारोबारमा ७० प्रतिशतले कमी आएको उहाँले जानकारी दिए । आजको गोरखापत्र दैनिकमा समाचार छ ।