काठमाडौं । फिल्म ‘रुखान’मा नायिका नीति शाह अनुबन्धित भएकी छिन् ।
सविर श्रेष्ठको निर्देशनमा तयार हुन लागेको यो फिल्मको मुख्य भूमिकामा नीति अनुबन्धित भएकी हुन् ।
सविन फिल्मस्, भिक्टोरी प्रोडक्शन हाउस प्रा.लि र काइट्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको फिल्मकालागि निर्माण पक्ष र नीतिबीच गत सोमबार कागजी सम्झौता भएको हो ।
नीति यस फिल्ममा विद्रोही महिलाको भूमिकामा देखिने भएकी छिन् । आफू अनुबन्धित भएसँगै यो फिल्मलाई लिएर निकै नै उत्साहित रहेको बताएकी छन् । कामको हिसाबमा नीतिको यो दोस्रो फिल्म हो । यस अघि नीतिले धेरै फिल्ममा काम गर्न लागेको चर्चा थियो, पछि उनले फिल्म ‘खजुरे ब्रो’बाट डेब्यु गर्न सफल भइन् । जसको छायांकन हाले सकिएको छ।
नीतिका लागि यो फिल्म विशेष हुने देखिएको छ । फिल्मको केन्द्रीय भूमिकामा रहेकाले पनि उनको कामले चर्चा पाएको खण्डमा उनको करिअरलाई निकै ठूलो फाइदा पुग्ने देखिन्छ ।
निर्माण पक्षले बताए अनुसार यो फिल्मलाई नेपाली, हिन्दी, अंग्रेजी र भोजपुरी गरी चार वटा भाषामा निर्माण हुने छ ।
फिल्मले सिंगो देशका नागरिकहरूले समस्याबाट जुध्दै गर्ने सङ्घर्षलाई देखाउने निर्देशक सविर श्रेष्ठले बताएका छन् । उनका अनुसार महिलाको सङ्घर्षको कथालाई देखाउन लागिएकाले नायिकामा नीति शाहलाई अनुबन्धित गरिएको हो ।
कृष्ण थापा (अष्ट्रेलिया) र सुरेश गुरुङको निर्माणमा बन्ने यो फिल्ममा डाक्टर रुपक घिमिरेको कथा छ । फिल्मका कार्यकारी निर्माता सविन श्रेष्ठ हुन् । फिल्ममा अर्जुन पोखरेलको संगीत, अभिमन्यू निरवीको पटकथा तथा संवाद रहनेछ ।
फिल्मको निर्माणमा आवरण स्किन हेयर क्लिनिकले पनि सहकार्य गरेको छ ।