काठमाडौं महानगरले भन्याे– ललिता निवास क्षेत्र ७ दिनभित्र खाली गर्नू-Sutra News

काठमाडौं महानगरले भन्याे– ललिता निवास क्षेत्र ७ दिनभित्र खाली गर्नू

बुधबार, ९ फाल्गुन २०८०

बुधबार, ९ फाल्गुन २०८०

काठमाडाैं । काठमाडौं महानगरपालिकाले बालुवाटारस्थित ललिता निवास क्षेत्रको सरकारी जग्गा खाली गर्न सात दिने सूचना निकालेको छ । बुधबार एक सूचना जारी गर्दै काठमाडौं महानगरपालिकाले ललिता निवास क्षेत्रको सरकारी जग्गाबाट आफैँ हट्न व्यक्ति, कम्पनी र संघसंस्थाहरूलाई सात दिनको अवधि दिएको हो ।



सरकारी जग्गामा रहेका संरचनाहरू हटाउन महानगरले ७ दिनको अवधिसमेत तोकेको छ ।

‘विशेष अदालत, काठमाडौंबाट वादी नेपाल सरकार र प्रतिवादी कलाधर देउजासमेत १७५ जना भएको ‘सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गरी भ्रष्टाचार गरेको’ मुद्दामा २०८० फागुन ३ गते भएको फैसलाबाट काठमाडौं महानगरपालिका वडा नं.४ बालुवाटारस्थित ललिता निवास क्षेत्रको जग्गा जफत (सरकारी) भएको छ,’ महानगरले जारी गरेको सूचनामा भनिएकाे छ, ‘विशेष अदालत, काठमाडौंको उक्त फैसलाबाट जफत (सरकारी) भएको काठमाडौं महानगरपालिका वडा नं. ४ बालुवाटारस्थित ललिता निवास क्षेत्रको सरकारी सम्पत्तिको संरक्षण, रेखदेख तथा उचित प्रबन्ध गर्न यो सूचना प्रकाशित गरिएको छ ।’

महानगरले तोकेको समयभित्र सो क्षेत्रबाट नहटेमा प्रचलित कानुन बमोजिम हटाई सरकारी जग्गा तथा सम्पत्तिको संरक्षण, रेखदेख तथा उचित प्रबन्ध गरिनेसमेत महानगरले जनाएको छ ।

‘यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिनभित्र उक्त ललिता निवास क्षेत्रमा रहेका व्यक्ति, कम्पनी तथा संघ संस्थाहरु सो क्षेत्रबाट हटी सरकारी सम्पत्तिको संरक्षण तथा उचित प्रबन्ध गर्ने कार्यमा महानगरपालिकालाई सहयोग गर्नुहुन अनुरोध गरिन्छ’, सूचनामा भनिएकाे छ, ‘सूचनामा ताेकेकाे समयभित्र साे क्षेत्रबाट नहटेमा प्रचलित कानुनबमाेजिम हटाइ सरकारी जग्गा तथा सम्पत्तिकाे संरक्षण, रेखदेख तथा उचित प्रबन्ध गरिने व्यहाेरासमेत यसै सूचनामार्फत सम्बद्ध सराेकारवालालाइ सूचित गरिन्छ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट