काठमाडौं । फिल्म ‘दयारानी’ व्यापारिक आँकडा सार्वजनिक गरिएको छ ।
माघको २६ गतेबाट रिलिजमा आएको फिल्म ‘दयारानी’को एक पोस्टर सार्वजनिक गर्दै सोमबारसम्मको व्यापारिक आँकडा सार्वजनिक गरिएको हो । उक्त्त व्यापारिक आँकडासँगै फिल्म बक्सअफिसमा हिट सावित भएको दाबी गरिएको छ।
यसको निर्माणपक्षले कलेक्सन रिपोर्टसहित फिल्मले दोस्रो सातासम्म आइपुग्दा साढे २ करोड ग्रस कलेक्शन गरेको उल्लेख छ । ‘दयारानी’ले पहिलो हप्ता १ करोड ५० लाख ग्रस कलेक्सन गरेको सिनेमाको दोस्रो सप्ताहन्नमा १ करोड ग्रस कलेक्सन थप्दै २ करोड ५० लाख व्यापार गरेको बताइएको छ ।
गुरुङ समुदायमा रहेको संस्कृतिमा आधारित फिल्म दयारानी विवाह गरेको धेरै समयपछि सन्तान नभएपछि उपचार खोज्न हिँड्ने कथामा आधारित छ । चिकित्सकले आफूबाट सन्तान उत्पादन गर्न सक्ने क्षमता नभएको बताएपछि दयाहाङ राईको पात्रले यो सत्यलाई लुकाएर यसको दोष पत्नीलाई लगाउँछ । आफूलाई मर्दका रूपमा देखाउन उक्त पुरुष पात्रले आफ्नो कारणले सन्तान उत्पादन गर्न नसक्ने यथार्थलाई स्वीकार्न सक्दैन । सन्तान प्राप्तिको यो रस्साकस्सीमा कसरी महिला प्रताडित हुनुपर्छ भन्ने कथावस्तु दयारानीमा चित्रण गरिएको छ । फिल्ममा सन्तान नभएका बेलामा श्रीमान्-श्रीमतीबिच कस्ता उतारचढाव आउँछन् भन्ने कुरालाई पनि देखाउन खोजिएको छ ।
‘दयारानी’ले दोस्रो सातामा समेत राम्रो व्यापार गरिरहेको हल सञ्चालक बताउँछन् । बिशेषगरी फिल्मको व्यापार राजधानी भन्दा मोफलसमा राम्रो छ । मोफसलमा पनि निर्देशक माओत्से गुरुङको गृह जिल्ला कास्कीको पोखरामा उच्च व्यापार गरेको छ । त्यहाँको मिडटाउन सिनेमाजले बुधबारका लागि चार शो उपलब्ध गराउनुले पनि पोखरामा दर्शकको चाप राम्रो रहेको संकेत गर्छ । यसैले त्यहाँका हलमा उनको नामको प्रभाव बढी परेको हुनसक्छ । बुटवल, दमौली र इटहरीका हलमा पनि फिल्म हेर्ने दर्शकको चाप राम्रो रहेको वितरकको दाबी छ ।
निर्देशक गुरुङ व्यापारबाट खुशी देखिएका छन् । उनले फिल्मको व्यापार र प्रतिक्रियाबाट आफूलाई हौसला मिलेको बताए । उनले दर्शकलाफ यो मायाप्रेमका लागि धन्यवाद छ भन्ने प्रतिक्रिया दिएका छन् । प्रदर्शनको दोश्रो सातामा फिल्मले उल्लेख्य मात्रमा शो संख्या पाएको थियो ।
यस्तै, फिल्मका मुख्य पात्र रहेका अभिनेता दयाहाङ राईले फिल्मको कलेक्सन रिपोर्टसहितको पोस्टर फेसबुकमा साझेदार गर्दै दर्शकप्रति आभार व्यक्त गरेका छन् । उनले लेखेका छन्, ‘हामी सम्पूर्णप्रति आभार व्यक्त गर्दछौं ।’
फिल्ममा दर्शकको अकुपेन्सी भने निर्माणपक्षले दाबी गरे जस्तै देखिएको छैन । पहिलो साताको केही दिन पोखरामा फिल्मको अकुपेन्सी सुखद देखिएको थियो । दोस्रो सातामा फिल्मको व्यापार देशभर नै दयनीय थियो । तर, निर्माणपक्षले भने फिल्मले रिलिजको ३ दिनमै १ करोड २५ लाख ग्रस कलेक्शन गरेको दाबी गरेको थियो । फिल्मको कलेक्सनलाई पुष्टि गर्ने आधार छैन । यता केही महिनादेखि तालुकवाला सरकारी निकाय चलचित्र विकास बोर्डले पनि बक्स अफिस तथ्यांक सार्वजनिक गर्ने गरेको छैन ।
हलमा दर्शकको अवस्था निकै कमजोर हुँदा पनि फिल्मको टिमले हिटको घोषणा गर्न हतार गरेको देखिन्छ । माघको २६ गते नायक दयाहाङ राई अभिनित ‘हात्तीछाप र दयारानी’ रिलिज भएका थिए । यी दुबै फिल्मको व्यापार गतिलो देखिएको छैन । तर, दयाको फिल्म असफल भएको सन्देश जाँदा उनका आगामी फिल्मको व्यापारलाई असर पर्ने देखेर निर्माणपक्षले ‘दयारानी’लाई हिटको ट्याग भिराउन हतार गरेको देखिन्छ ।
बाँसुरी फिल्मस् र माओत्से फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमालाई शैलेन्द्र ध्वज कार्कीले खिचेका हुन् । मोहन गुरुङ, किरण गुरुङ, केन्द्र लिम्बु र न्यू आइटी भेन्चरको सहकार्यमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता रामबाबु गुरुङ र अपिल विष्ट हुन् ।