काठमाडौं । युक्रेन झण्डै दुई वर्षदेखि नै संकटमा छ । जहाँ घनघोर युद्ध चलिरहेको छ । रुसी आक्रमणबाट युक्रेनका मुख्य शहरहरु ध्वस्त छन् । पश्चिमी केही ठाउँबाहेक कीभसमेत युद्धले क्षतविक्षत छ ।
युद्धको चरम संकटमा गुज्रिरहेको युक्रेन अमेरिकासहित केही देशको सहयोगमा चलिरहेको छ । तर, यस्तो संकटमा गुज्रिरहेको देशसँग नेपालको भने व्यापार घाटा अत्यासलाग्दो छ ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालले युक्रेनसँगको व्यापारमा मासिक झण्डै डेढ अर्ब बढीको घाटा व्यहोरिरहेको छ ।
नेपालबाट शून्य बराबरकै तहमा निर्यात हुँदा यो आर्थिक वर्षको सात महिनामा (साउनदेखि माघसम्म) युक्रेनबाट ११ अर्ब ७१ करोड ८६ लाख बराबरको वस्तु तथा सेवा आयात भएको छ । विभागको तथ्यांकअनुसार योबीचमा नेपालबाट युक्रेन एक लाख १७ हजार रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात भएको छ ।
रोचक विषय, अझैपनि नेपालले वस्तु तथा सेवा आयात गर्ने देशहरुमा युक्रेन चौथो नम्बरमा छ ।
के आउँछ युक्रेनबाट ?
भन्सार विभागको तथ्यांकअनुसार युक्रेनबाट नेपालमा जीवित जनावर, बीउ, दाल, सोयाबिन तेल, सूर्यमुखी तेल, कपडा, प्लास्टिकका सामानलगायत आयात हुने गरेको छ । तथ्यांकलाई हेर्दा, सबैभन्दा बढी तेलजन्य पदार्थ आयात भएको देखिन्छ ।
विभागले जनाएअनुसार पछिल्लो सात महिना अवधिमा सूर्यमुखीको तेल मात्रै सात अर्बभन्दा बढी रकमको आयात भएको छ ।