फिल्म ‘रङ्गेली’को ट्रेलर रिलिज गरिएको छ ।
आगामी फागुन २५ गते महाशिवरात्रिको दिन रिलिज हुने फिल्मको बुधवार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै ट्रेलर सार्वजनिक गरिएको हो ।
ओएसआर डिजिटलको युट्युब च्यानलबाट रिलिज गरिएको ट्रेलरमा ‘डर र शक्तिको खेल’को रूपमा प्रस्तुत गरिएको छ ।
फिल्मका प्रमुख कलाकारहरू सबैलाई समेटिएको तीन मिनेट १५ सेकेन्डको ट्रेलरमा डर र शक्तिको खेला देखाइएको छ । जसमा, नेपालको तराई क्षेत्रमा घटेका विविध घटनाहरू र राजनीति असरको आयामहरूलाई दृश्य मार्फत देखाउने कोसिस गरिएको छ ।
फिल्मका लेखक तथा निर्देशक रहेका अर्जुन सुवेदी ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै ‘रङ्गेली’ दर्शकले चाहेको जस्तो फिल्म बनाउने कोसिस गरेका बताए । उनले भने, ‘प्रचण्ड गर्मीको मौसममा तराई क्षेत्रमा धेरै मेहनत गरेर यो फिल्म बनाएका छौँ । रङ्गेलीको कथा तराई क्षेत्रको कथा हो । ट्रेलर हेरेर इमानदार प्रतिक्रिया चाहेको छु । हामीले दर्शकले चाहेको जस्तै फिल्म बनाउने कोसिस गरेका छौँ ।’
अभिनेता रुपेश झाले ‘रङ्गेली’ले तराईको कथा मात्र नभनी त्यहाँको संस्कृति पनि झल्काउने बताए । अभिनेता प्रवीण खतिवडाले फिल्म बनाउनु र रिलिज गर्नु सहज नभएको बताउँदै दर्शकको साथको अपेक्षा गरेको जनाए ।
फिल्म ‘रङ्गेली’मा दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताल लगायतको प्रमुख भूमिका रहेको छ । यस फिल्मका गीतहरूमा हर्क साउद, अर्जुन सुवेदी र सबिन एकतारेको शब्द रचना तथा सुशान्त गौतम र हर्कुलस बस्नेतको सङ्गीत रहेको छ ।
फिल्मका कार्यकारी निर्माताहरू जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् । निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने युवक कार्की र शिव शङ्कर चौलागाईँ सह-निर्माता हुन् । विवेक खड्का (योलो) एशोसियट निर्माता हुन् । सुशन प्रजापति फिल्मका छायाकार हुन् ।