काठमाडौं । आईसिसी विश्वकप लिग २ अन्तर्गत नामिबियाविरुद्ध दोस्रो हारसँगै कप्तान रोहित पौडेलले आफ्नो कारण टिमले हार्न पुगेको प्रतिक्रिया दिएका छन् । नेपाली टोलीका कप्तानसमेत रहेका पौडेलले टोलीले ब्याटिङमा राम्रो सुरुवात गरे पनि हार ब्योहर्नु परेको बताए ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार सम्पन्न खेलमा नेपाल नामिबियासँग दुई विकेटले पराजित भएको थियो । खेल सकिएपछि पत्रकारसँग कुरा गर्दै कप्तान पौडेलले आफू शून्य रनमै जानु निराशाजनक भएको बताए ।
‘म शून्यमा आउट हुनु नै निराशाजनक थियो, त्यसको जिम्मेवारी म लिन्छु, नेपालबाट सोचे जस्तो सुरुवात भयो, पावर प्लेमा राम्रो विकेट लिएका थियौँ,’ उनले थपे, ‘तर मेरो र दीपेन्द्र दाइको विकेटले टोलीलाई दबाब भयो, हामीले २०० देखि २५० रन बनाउँछाँै भन्ने थियो, तर भएन ।’
उनले क्रिकेटमा केही अनुमान गर्न नसकिने बताएउँदै आफूहरूले जित्ने अपेक्षा गरेको बताए । ‘नामिबियाले पनि मिहिनेत गरेको छ,’ उनले भने, ‘हाम्रा बलरहरूले शतप्रतिशत दिएका छन्, तर ब्याटिङमा केही कमजोरी भयो ।’