२९ वर्षपछि सडक कालोपत्र गर्ने सुरु-Sutra News

२९ वर्षपछि सडक कालोपत्र गर्ने सुरु

बुधबार, ९ फाल्गुन २०८०

बुधबार, ९ फाल्गुन २०८०

काठमाडौं । गण्डकी प्रदेशको गौरव आयोजनाको सडक कालोपत्र सुरु भएको छ । तनहुँको मानपुर–डेडगाउँ–बुलिङटार सडकमा ट्र्याक खुलेको २९ वर्षपछि कालोपत्र सुरु भएको हो ।



मुस्ताङको कोरोलादेखि नवलपुरको त्रिवेणी जोड्ने छोटो दूरीको उक्त सडकअन्तर्गत तनहुँ खण्डमा पहिलो चरणमा कालोपत्र थालिएको पूर्वाधार विकास कार्यालय तनहुँले जनाएको छ ।

अस्फाल्ट प्रविधिबाट तनहुँ खण्डमा कालोपत्र सुरु गरेको कार्यालयका प्रमुख कृष्ण आचार्यले जानकारी दिए । उनका अनुसार सडक स्तरोन्नतिका लागि सोमबारदेखि फागुन २२ गतेसम्म उक्त सडक बन्द गरिएको छ ।

विं.सं. २०५१ मा ट्र्याक खुलेको उक्त मार्गमा कालोपत्र हुने भएपछि स्थानीयवासी खुसी भएका छन् । उक्त खण्ड स्तरोन्नतिका लागि ०७७ मङ्सिर ५ गतेदेखि काम सुरु भएको थियो । भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत् २२ करोड ८५ लाख ४१ हजार ७९३ को लागतमा कालोपत्र सुरु गरिएको आचार्यले बताए ।

३५ करोड १४ लाख ७४ हजार १०९ लागत अनुमान गरिएकामा हेटौँडास्थित सपना निर्माण सेवाले १२ करोड २९ लाख ३२ हजार ३१६ मा कालोपत्रको ठेक्का पाएको थियो । सडक कालोपत्रको सम्झौता ०७६ फागुन ७ गते भएको थियो । ठेक्कालगत्तै नेपालमा कोरोनाको महामारी सुरु भएको र लकडाउनका कारण काम सुरु हुन नसकेको निर्माण कम्पनीले जनाएको छ ।

तनहुँको घिरिङ गाउँपालिका ४ मानपुरबाट सुरु भएर डेढगाउँको सिमानासम्मको एघार किलोमिटर खण्डमा सडक कालोपत्र हुने पूर्वाधार विकास कार्यालयले जनाएको छ । उक्त सडकको चौडाई सात मिटर रहनेछ । सडकमा पाँच मिटरको कालोपत्र हुनेछ भने एक मिटरको नाला निर्माण हुनेछ ।

कालोपत्र सम्पन्न भएपछि यस क्षेत्रकै समृद्धिको ढोका खुल्ने घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट