काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले स्थायी समिति बैठक बोलाएको छ । पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिएअनुसार बैठक पार्टी मुख्यालय पेरिसडाँडामा अपराह्न १ बजेदेखि बस्नेछ ।
बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने उनले जनाए । अहिले विशेषगरी गठबन्धन परिवर्तनको चर्चा चल्न थालेको छ ।
सत्ता साझेदार नेपाली कांग्रेसभित्र गठबन्धनको विषयलाई लिएर समीक्षा भइरहेको अवस्थामा माओवादी केन्द्रमा तरंग देखिएको छ । योबीचमा एमालेका नेताहरुले माओवादीका शीर्ष नेताहरुलाई भेटेका छन् । पछिल्लो स्थायी समिति बैठकमा विशेषगरी समसमायिक राजनीतिक विषयमा केन्द्रीत रही छलफल हुने जनाइएको छ ।
साथै, पार्टीको भावी कार्ययोजना, कार्यविभाजन र नयाँ अभियान सञ्चालन गर्नेबारेमा छलफल हुने उनले जनाए ।
माओवादीले गत भदौ १६ देखि पुस १७ सम्म ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ सञ्चालन गरेको थियो । उक्त अभियान प्रभावकारी देखिएको उल्लेख गर्दै माओवादीले क्षेत्रगत आधारमा नयाँ अभियान सञ्चालन गर्नु उपयुक्त हुने निष्कर्ष निकालेको थियो । बैठकमा जसबारे पनि छलफल हुने जनाइएको छ ।