काठमाडौं । ललितपुरको बालकुमारीमा दुई युवाको ज्यान जाने गरी भएको घटनामा दोषी देखिएका मन्त्री प्रकाश ज्वालालाई कारबाही गर्न माग गरेको छ । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले विरोध जनाएको हो ।
बैठकमा रास्वपा सांसद विराजभक्त श्रेष्ठले बालुकुमारी घटनाको प्रतिवेदन लुकाएर सरकारले दोषीलाई उन्मुक्ति दिन खोजेको आरोप लगाए । उनले उक्त प्रतिवेदन सार्वजनिक गर्न माग गरे । सरकार संसदप्रति जिम्मेवार नरहेको आरोप लगाउँदै उनले घटनामा दोषी रहेका मन्त्रीलाई कारबाही नभए संसद अवरुद्ध गर्ने चेतावनी दिए ।
यस्तै, राप्रपा सांसद ज्ञानबहादुर शाहीले बालकुमारी घटना हत्या भएको प्रधानमन्त्रीले बताएको भन्दै मन्त्री ज्वाला र गोली चलाउन आदेश दिने गृहमन्त्रीलाई कारबाही गर्नु पर्ने बताए । उनले अदालतले पक्राउ पुर्जी जारी गरेका व्यक्तिहरू प्रधानमन्त्रीसँग चिया खाइरहेको भन्दै प्रधानमन्त्री देशको अदालतभन्दा माथि हो ? भन्दै प्रश्न गरे ।
सांसद शाहीले ललिता निवास प्रकरणमा ठूला व्यक्तिहरूले उन्मुक्ति पाएको र व्यापारीलाई ब्ल्याकमेलका लागि पक्राउ गरिएको दाबी गरे ।