काठमाडौं । संसदमा विपक्षी दलहरुले एकसाथ विवादित तीन मन्त्रीहरुको राजीनामा माग गरेका छन् । बिहीबार बसेको संसद बैठकमा प्रमुख प्रतिपक्षी नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारका तीन मन्त्रीको एकसाथ राजीनामा मागेका हुन् ।
दलहरुले बालकुमारी घटनामा दोषी देखिएका भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, विभिन्न घटनामा विवादित बनेका संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किराँती र भ्रष्टाचार प्रकरणमा मुछिएका स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बस्नेतको राजीनामा मागेका हुन् । तीन मन्त्रीलाई बर्खास्ती नगरिए चुप लागेर नबस्ने चेतावनी पनि दलहरुको छ ।
बिहीबारको बैठकमा तीन दलले केही समय संसद बैठक पनि अवरोध गरेका थिए । तीन दलका नेताहरू केही समय उभिएर विरोध जनाएका थिए। विरोध गरेपछि सभामुख देवराज घिमिरेले प्रतिपक्षी दलका नेताहरूलाई बोल्न समय दिएका थिए।
बैठकमा एमालेका सांसद रघुजी पन्त, रास्वपाका सांसद विराजभक्त श्रेष्ठ र राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले बोलेका थिए ।
संसद बैठकमा बोल्दै एमाले सांसद रघुजी पन्तले प्रधानमन्त्री सुशासनको भाषणको मन्त्रीहरुले धज्जी उडाएको बताए । “प्रधानमन्त्री सुशानको भाषण गर्नुहुन्छ, तर ह्लारक्याल लामाले गरेको कार्यक्रमा जानुहुन्छ, नैतिक रूपमा पर्यटमन्त्री र ह्लारक्याल लामा हटाउनुपर्छ”, पन्तले भनेका छन्, “बालकुमारी घटनामा प्रकाश ज्वालाला राजीनामा दिएको भए, अख्तियारमा बयान दिएको मन्त्री क्याबिनेटमा बस्छ ?”
रास्वपाका श्रेष्ठले पनि विवादित मन्त्रीलाई हटाउन माग गरे । बालकुमारी घटनाको छानबिन प्रतिवेदनमाथि किन एक्सन नलिएको भन्दै प्रश्न तेर्स्याए ।
यस्तै, राप्रपाका शाहीले पनि ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधव नेपाल र बाबुराम भट्टराईलाई जोगाएको भन्दै विरोध गरे ।