काठमाडौं । सुदर्शन थापाको निर्देशनमा बन्ने भनेर गतबर्ष नै घोषणा गरिएको फिल्म ‘रावायण’ अब नायक पल शाह र नायिका पूजा शर्माले गर्ने भएका छन् ।
निर्माण पक्षले कलाकारको लाइनअप टुंगियाउदै यो फिल्मको शीर्ष भूमिकामा पल र पूजालाई अनुबन्धित गराएको हो ।
आज पल शाहको जन्मदिन पारेर निर्देशक सुदर्शन र नायिका पूजाको तर्फबाट नायक पललाई फिल्म ‘रावायण’ उपहार स्वरूप दिइएको बताइएको छ ।
उसो त, गत वर्ष नै घोषणा गरिएको यो फिल्ममा नायक अनमोल केसी मुख्य भूमिकामा रहने कुरा थियो, पछि अनमोलले फिल्म नगर्ने कुरा भएपछि प्रहरी हुँदै अदालतसम्म पुगेको थियो ।
यता, केही समय अघि सुदर्शनको पक्षमा बोल्दै आएका प्रदीप खड्काले रावायणमा अभिनय गर्ने चर्चा पनि थियो ।
यो फिल्म निर्देशक थापा र नायिका शर्माले मिलेर बनाउने भएका छन् । विशेष स्रोतले दिएको जानकारी अनुसार, चैत्रको दोस्रो साताबाट छायांकन गर्ने गरी फिल्मको प्रि–प्रोडक्शनको तयारी धमाधम चलिरहेको छ ।
केही साता अगाडि पोखरा पुगेर निर्देशक तथा निर्माता सुदर्शन र पूजाले पलसँग यो विषयमा कुरा गरेका थिए । यसपछि, पल फिल्ममा काम गर्न तयार भएको बुझिएको छ । यस फिल्ममा नकारात्मक र सकारात्मक गरी पललाई दुई भूमिकामा देखिने भएको छ ।
फिल्म ‘रावायण’सँगै फेरि सुदर्शन, पूजा र पलको टिम एक भएको छ । पल, पूजा र सुदर्शनले यस अघि फिल्म ‘म यस्तो गीत गाउँछु र म यस्तो गीत गाउँछु २’मा सहकार्य गरेका थिए । ‘म यस्तो गीत गाउँछु २’ रिलिज हुने बेला नावालिकाको बलात्कार गरेको आरोपमा पल जेल गए सँगै उनीहरूको यो टिम पनि टुटेको थियो ।
यता, नायिका पूजा शर्माले ‘म यस्तो गीत गाउँछु २’ चलाउनको लागि पलको नाममा आँसु झारेको आरोप पनि पाएकी थिइन् । बिचमा उनीहरूको दोस्तीमा खटपट आएको पनि देखियो तर अब भने पूजाले ती सबै कुरा गलत हुन् भन्ने प्रमाण गर्न पूजाले मध्यरातमै पललाई जन्मदिनको शुभकामना दिएकी थिइन् । यसबाट भने पल र पूजाबिच सहकार्यको वातावरण बनेको बुझिएको थियो ।
फिल्म ‘रावायण’ सुदर्शनको पनि एउटा ड्रिम प्रोजेक्ट हो । यो प्रोजेक्ट आफ्ना लागि चुनौतीपूर्ण हुने सुदर्शनको भनाइ छ ।
शिवम् अधिकारी तथा दुई भारतीय फिल्म लेखकहरू प्रदीप श्रीवास्तव र राज गौरवले पटकथा लेखेका हुन् । ‘रावायण’लाई २०८१ सालभित्रै प्रदर्शन गर्ने सुदर्शनको योजना छ ।
फिल्मको शीर्ष भूमिकामा पल शाह र पूजा शर्मा अनुबन्धित भएसँगै अन्य कलाकारमा प्रमोद अग्रहरि, कामेश्वर चौरसिया, शिल्पा मास्के, निकिता चाण्डक र कैलाश रावल छन् ।