प्रधानमन्त्रीलाई विपक्षीको अनौठो सहयोग : जसलाई हटाउन चाहेका छन्, उनैको राजीनामा माग-Sutra News

प्रधानमन्त्रीलाई विपक्षीको अनौठो सहयोग : जसलाई हटाउन चाहेका छन्, उनैको राजीनामा माग

बिहिबार, १० फाल्गुन २०८०

बिहिबार, १० फाल्गुन २०८०

काठमाडौं । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा विपक्षी तीन दल (एमाले, रास्वपा र राप्रपा)ले जोडदाररुपमा तीन मन्त्रीको राजीनामा मागे । दलहरुले बालकुमारी घटनामा दोषी देखिएका भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, विवादित पृष्ठभूमिका संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किराँती र भ्रष्टाचार प्रकरणमा मुछिएका स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बस्नेतको राजीनामा मागेका थिए ।



तीन मन्त्रीलाई बर्खास्ती नगरिए चुप लागेर नबस्ने चेतावनी विपक्षी दलहरुको छ । बिहीबारको संसद बैठकमा तीन दलले केही समय संसद अवरोध पनि गरेका थिए । बैठकमा तीन दलका नेताहरू केही समय उभिएर विरोध पनि जनाएका थिए।

उसो त प्रधानमन्त्रीले मन्त्रिपरिषद् हेरफेर गर्न लागेको अहिले होइन । प्रधानमन्त्री प्रचण्डले एक वर्ष कार्यकाल पुगेको दिन गत पुस १० गते नै सकेसम्म मन्त्रिपरिषद्को सेट नै परिवर्तन र नमिले कार्यसम्पादनका आधारमा मन्त्रीहरु हेरफेर गर्ने योजना बनाएका थिए । प्रधानमन्त्रीले जसबारे पटक–पटक सत्ता साझेदारसँग छलफल पनि गरेका थिए ।

तर, विशेषगरी सत्ता साझेदार नेपाली कांग्रेसभित्रको विवादको कारण प्रधानमन्त्रीको मन्त्रिपरिषद् हेरफेर गर्ने योजना सफल भएन । मन्त्रिपरिषद् हेरफेरमा नेपाली कांग्रेसभित्रको विवाद निर्णायक बन्यो । कांग्रेस सभापति शेरबहादुर देउवाले कहिले राष्ट्रियसभा सदस्यको निर्वाचन त कहिले कांग्रेस महासमिति बैठकलाई देखाएर मन्त्रिपरिषद् हेरफेरलाई टारिदिएका थिए ।

मन्त्रिपरिषद् हेरफेरको विषयमा कांग्रेस बाहेक सत्ता साझेदार सबैबीच करिब सहमति छ । दलहरुबीच कम्तिमा कार्यसम्पादनका आधारमा हेरफेर गर्नुपर्ने सहमति बनेकाे देखिन्छ ।

अनौठो, स्वयम् प्रधानमन्त्रीले कार्यसम्पादन मूल्यांकनका आधारमा हटाउन खोजेका तीन मन्त्रीहरुको नाम अहिले विपक्षीले लिएका छन् । विपक्षीले बर्खास्तीकाे लागि नाम  लिएका मन्त्रीमा प्रकाश ज्वाला, मोहन बस्नेत र सुदन किराँती छन् । तीनै जनाकाे रवैयाप्रति प्रधानमन्त्री स्वयम् असन्तुष्ट छन् ।

बजेट बाँडफाँटकै चरणमा भौतिक योजनाको जिम्मेवारीमा रहेका मन्त्री ज्वालाप्रति प्रचण्ड सन्तुष्ट देखिएका थिएनन् । ज्वालाको सुस्त कार्यशैलीप्रति उनले पटक-पटक असन्तुष्टी पोख्दै आएका छन् ।

अर्कोतर्फ, स्वयम् ज्वाला आबद्ध दल एकीकृत समाजवादी पनि विकल्प खोज्ने पक्षमा निरन्तर छ । यस्तोमा पछिल्लो बालकुमारी घटनापछि उनलाई जोगाउने पक्षमा एकीकृत समाजवादी देखिएकाे छैन । जसमा विपक्षीहरुको मोर्चाबन्दी सहयोगी बनिरहेको देखिन्छ ।

पर्यटनमन्त्री किराँतीका सस्तो लोकप्रियतावादी हर्कतले प्रधानमन्त्री प्रचण्ड हैरानमा रहेको निकटस्थ बताउँछन् । पछिल्लो समय मन्त्री किराँती एकपछि अर्को विवादमा फसिरहेका छन् । उनीविरुद्ध माओवादीभित्र र बाहिर पनि विरोध भइरहेको छ ।

निकटस्थले बताएअनुसार मन्त्री किराँती बचाउ गर्ने तहमा प्रधानमन्त्री छैनन् । यसअघि सरकारले निकालेको कार्यसम्पादन मूल्यांकनको रिपोर्टमा पनि मन्त्री किराँतीको अवस्था कमजोर देखिन्छ । यस्तोमा, विपक्षीबाट राजीनामा माग्दा थप सहजता पुगेको बताइन्छ ।

स्वास्थ्यमन्त्रीको जिम्मेवारीमा रहेका मोहनबहादुर बस्नेत पनि एकपछि अर्को विवादमा तानिरहेका छन् । टेरामक्स प्रकरणमा मुछिएका बस्नेतकाे कार्यशैलीप्रति पनि प्रधानमन्त्री सन्तुष्ट छैनन् । प्रधानमन्त्रीले मन्त्री हेरफेरको सूचीमा बस्नेतको नाम पनि राखेका छन् । जसलाई पछिल्लो विपक्षीहरुको विरोधले पनि राहत दिएको देखिन्छ ।

सम्बन्धित समाचार

भौतिक, पर्यटन र स्वास्थ्यमन्त्रीलाई हटाउन विपक्षीको माग, नहटाएर अवरोधको चेतावनी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट