स्पष्टीकरण दिएको दृश्य खिच्दै ‘मेयर’को छायांकन सुरु-Sutra News

स्पष्टीकरण दिएको दृश्य खिच्दै ‘मेयर’को छायांकन सुरु

बिहिबार, १० फाल्गुन २०८०

बिहिबार, १० फाल्गुन २०८०

काठमाडौं । फिल्म ‘मेयर’को छायांकन सुरु भएको छ ।



दीपेन्द्र के खनालको निर्देशनमा निर्माण हुने फिल्मको बिहीबार काठमाडौंको एक होटेलमा मेयर पात्रको दृश्य खिच्दै छायांकन सुरु गरिएको हो ।

फिल्मको छायांकन दृश्यमा अभिनेताद्वय खगेन्द्र लामिछाने र टीका पहारीले पहिलो सट दिएका छन् । मेयर पात्रले अख्तियारसामु दिएको स्पष्टीकरणको दृश्य खिच्दै छायांकन सुरुवात गरिएको हो ।

फिल्म ‘मेयर’ केही राम्रो काम गरेर छाड्छु भन्ने संकल्प बोकेको एक मान्छेले कठिन परिस्थिति र अवरोधका बिच समाजलाई कसरी राम्रो बाटोमा डोर्‍याउन सक्छ भन्ने कथामा बन्ने लागेको छ ।

सर्लाहीको बागमती नगरपालिकाका मेयर भरत थापाको जीवन सङ्घर्षलाई प्रस्तुत गर्ने यो फिल्मको शीर्ष भूमिका खगेन्द्रले निवार्ह गर्दै छन् । मेयर छायांकन सेटबाट प्राप्त तस्बिरमा खगेन्द्रले चश्मा लगाएका छन् ।

निर्माण टिम काठमाडौंको छायांकन सकाएर शुक्रबार सर्लाही जाने तयारीमा छ । फागुन १२ गते बागमती नगरपालिकाले शैक्षिक महोत्सवका साथै सांस्कृतिक कार्यक्रम गर्दै छ । सर्लाहीमा फिल्मको पहिलो सिन त्यहीँ खिचिने र बाँकी सम्पूर्ण छायांकन बागमतीमै हुने निर्माण टिमले बताएको छ ।

मेयर थापाको भूमिका निर्वाह गर्न लागेका खगेन्द्रले गत महिना बागमतीमै बसेर मेयर थापाको स्वभाव, आनीबानी, कार्यशैली, व्यक्तित्वको बारेमा अध्ययन गरेका थिए । यो फिल्ममा उनको अपोजिटमा अभिनेत्री वर्षा राउतले अभिनय गर्दै छन् । पटकथा प्रडक्शनको ब्यानरमा बन्न लागेको फिल्ममा महेश दवाडीको पटकथा तथा कृष्ण बहादुर थापाको छायांकन रहनेछ ।

फिल्ममा अर्पण थापा, अनुप बराल, दिव्य देव, हरिहर शर्मा, रवीन्द्र झा, प्रकाश घिमिरे, रमेश बुढाथोकी, सन्जोग रसाइली, आशान्त शर्मा, प्रभाकर न्यौपाने, झकेन बिसी लगायतको पनि अभिनय रहनेछ । यो फिल्मबाट मेयर थापाकी छोरी अर्विशा थापाले डेब्यू गर्दै छिन् । निर्देशक खनालकी छोरी श्रृष्टिमाँ खनाल र शर्मिला पाण्डे निर्माता रहेको फिल्मका कार्यकारी निर्माता दीपेन्द्र स्वयं हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट